सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत
काठमाडौँ– न्याय मार्च गर्दै काठमाडौँ आएका सहकारी र मिटरब्याज पीडितहरुले आफ्ना ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन् ।
मंगलबार गृहमन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।
आफुहरुको मागका बारेमा जानकारी गराएपनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।
अध्यक्ष कुशवाहले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका माग गरेको बताए । उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।
गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो ।