नेपालीलाई रुसी सेनाबाट फिर्ता गर्न कुटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि कुटनीतिक पहल भइरहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा रुसी सेनामा रहेका नेपालीका परिवारको ज्ञापन पत्र बुझ्दै मन्त्री साउदले रुसी सेनामा रहेका नेपालीहरुलाई सकुशस स्वदेश फर्काउने दायित्व सरकारको भएको भन्दै कुटनीतिक पहल भइरहेको बताएका हुन् ।
रुसी सेनामा रहेर ज्यान गुमाएका नेपालीको पार्थिव शरिरलाई नेपाल ल्याउन पनि छलफल र कुराकानी भइरहेको उनले बताए । उनले रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गराउन कुटनीतिक संवादमा रहेको जानकारी दिए । रसियन सेनामा भएका नेपालीका दुईसय भन्दा बढि परिवारले परराष्ट्रको कन्सुलरमा आवेदन दिएको भन्दै उनले अन्यलाई पनि अनलाइनबाटै आवेदन दिन आग्रह गरे । उनले सरकारले मान्यता नदिएका स्थानमा जान नदिन पनि आग्रह गरे ।
रुसी सेनामा रहेका नेपालीका आफन्त धादिङ गोर्खाकी कविता कुमालले रुसी सेनामा रहेका आफन्तलाई नेपाल फर्काउन आग्रह गरिएको जानकारी दिए । मन्त्रीको कुरा सुन्दा आशावादी रहेको उनको भनाइ छ ।
रुसी सेनामा रहेका नेपालीका परिवारले आफ्ना आफन्तजनको अवस्था सार्वजनिक गर्न, मृतक तथा रुसी सेनामा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउनका लागि पहल गर्न मन्त्री साउदलाई ज्ञापन पत्र बुझाएका हुन् ।