Nic Ad Nic Ad
Nic Ad Nic Ad
शालिन मृत्यु प्रकरण

शालिन पोखरेलको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न काँग्रेसको माग

शनिबार, फागुन १९, २०८०

काठमाडौँ- नेपाली काँग्रेसले चितवनमा १२ फागुनमा आफू बस्ने होस्टेलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ ।

चितवनको रत्ननगर नगरपालिका-१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टलेमा भएको मृत्यु शंकास्पद भएको भन्दै काँग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो । 

काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर भनेका छन्, ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाइ आफैँमा अत्यन्तै दुःखद त भएको छ नै झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ ।’

यो घटनामा सत्य, तथ्य बाहिर ल्याएर दोषीलाई हदैसम्मको कारबाहीका लागि काँग्रेसले सरकारसँग माग गरेको छ । गोरखाको अजिरकोट गाउँपालिका-५ घर भएकी शालीन शिशु निकेतन विद्यालयको छात्राबासमा बसेर पढ्दै थिइन् । छोरीको हत्या भएको हुनसक्ने आशंका गर्दै उनको बाबुले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र होस्टल वार्डेनविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धानका लागि प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक किरणबहादुर अधिकारी र वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्