Nic Ad Nic Ad
Nic Ad Nic Ad

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन : अर्थमन्त्री महत

आइतबार, फागुन २०, २०८०

नुवाकोट– अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।

नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक भेलालाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले गाउँगाउँमा विकास र शैक्षिक गुणस्तरमार्फत युवा वर्गलाई रोजगारीमा केन्द्रित गराउने योजना तथा बजेट कार्यान्वयनमा सरकार केन्द्रित रहेको बताए  ।

“कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन,” उनले भने, “परिवार पाल्न र सन्ततिको भविष्य सुनिश्चित हुने वातावरण नेपालमा नै हुनेछ भन्नेमा विश्वास गर्न आग्रह गर्दछु ।” 

युवालाई आफ्नै गाउँमा टिकाउन रोजगारको सिर्जनाका लागि पूर्वाधार विकास र गुणस्तरीय शिक्षा नै पहिलो आधार भएकाले सोहीअनुसार सरकारले नयाँ–नयाँ योजना कार्यान्वयनमा ल्याएको अर्थमन्त्रीले जानकारी दिए । उनले व्यावसायिक कृषिमा लाग्न स्थानीय किसानलाई सुझाव पनि दिए ।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्