रूसको आणविक हतियार अमेरिकाकोभन्दा राम्रो भएको पुटिनको दाबी
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले हवाई, जल तथा स्थलबाट प्रक्षेपण गरिएको रूसको आणविक हतियार ‘ट्रायड’ अमेरिकाकोभन्दा निकै उन्नत भएको बताए ।
युक्रेनमा दुई वर्षसम्म चलेको आक्रमणका क्रममा आफ्नो आणविक शक्तिलाई बढावा दिएको रूसले गत महिना पश्चिमा देशहरूले द्वन्द्व चर्काएमा आणविक विपत्तिको ‘वास्तविक’ जोखिम रहेको चेतावनी क्रेमलिनले दिएको थियो । “हाम्रो हाणविक हतियार ट्रायड कुनै पनि अन्य ट्रायडभन्दा बढी आधुनिक छ । वास्तवमा हामी र अमेरिकीहरूसँग मात्र यस्ता हतियारहरू छन् र हामी यसमा धेरै अगाडि बढेका छौं,” पुटिनले सरकारी टिभीलाई दिएको अन्तर्वार्तामा भने ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै पश्चिमा मुलुकहरूले रूसमाथि ‘गैर–जिम्मेवार’ पूर्ण रूपले आणविक हतियार सम्बन्धमा वक्तव्यबाजी गरेको आरोप पुटिनले लगाउँदै आएका छन् ।
मस्कोसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको अनुमान गरिएको छ, जुन विश्वको सबैभन्दा ठूलो भण्डार हो । पश्चिमी मुलुकहरूले युक्रेनमा उनीहरूका सेना पठाउँदा युद्धभूमिको स्थितिमा कुनै परिवर्तन नआउने उक्त अन्तर्वार्तामा पुटिनले बताए।