Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

स्वर्णिम जी! रवि लामिछानेको सत्तायात्रा कमल थापा पदचाप नबनोस् 

बिहीबार, चैत १, २०८०

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिने क्रममा सत्ता छिरेपछि बडो बचाऊको शैलीमा भाषण दिए– राजनीति गर्न अनुभव पनि खाँचो हुन्छ। 

यसका निम्ति उनले बेलायतका केही मन्त्री बनेपछिका अनुभवका कारण पछि बहुमत जुटाउन सफल भएको उदाहरण मात्र दिएनन् चर्चिलका उक्ति पनि सुनाए।

राजनीति पक्कै पनि सरकार चलाउनका लागि, परिवर्तन महशुस गराउनका लागि नै छान्ने यात्रा हो। यो नियात्राको लक्ष्य भनेकै जनमुखि काम गर्ने हो। अहिले सत्ता समीकरणमा छिरेपछिका उक्ति सुन्दा कति मिठा लाग्छन् तर भनिन्छ नि ‘रुन्चे हाँसो’ रास्वपा र स्वर्णिम जीका लागि त्योभन्दा बढी केही होइन जस्तो लाग्छ। 

नेपालको अहिलेको राजनीति युरोप अमेरिकाको दशकौंअघिको उद्दरणमा आधारित छैन। स्वर्णिम वाग्लेले यहि मेसोमा माक्र्सको पनि भनाई जोडेका थिए। माक्र्सको सिद्धान्त पनि परिमार्जन हुँदै नेपाली कम्युनिस्ट राजनीतिमा आइपुग्दा मदन भण्डारीको जनताको बहुदलीय जनवाद बनिसकेको थियो, दशकौं अघि। त्यो परिमार्जन हुँदै–हुँदै गइरहेको छ र समान दूरीमा माओवाद भन्ने सिद्धान्तले पनि ‘स्पेश’ त पाएकै छ।

खैर, अहिलेको प्रविधियुक्त युगमा पार्टी गठन सैद्धान्तिक जगमा भन्दा पनि मानिसको लोकप्रियताको कसीमा भएको भन्ने नकार्न मिल्दैन। रास्वपाका सभापति लामिछानेको लोकप्रियताले स्थापित भएको पार्टीले बल्ल सिद्धान्तको लेपनको मार्ग समातेको हो भन्ने उदाहरण त तपाईहरूको जलेश्वर बैठकका निर्णय नै पनि होलान्।

त्यता होइन, अब यताचाहिँ जाऔं। निर्वाचनमा एक पटक उभार आउँछ त्यो उभार र जनसमर्थनको दिशाबोध भएन भने सक्किन पनि समय लाग्दैन। 

स्वर्णिम जी, रवि लामिछानेको सत्ता यात्रा कमल थापाको पदचाप नबनोस् भन्ने सुझाव टिप्पणीकारको छ।

हाम्रै कालमा एउटा व्यवस्थामा शक्तिशाली बनेका कमल थापा अर्को व्यवस्था आउँदा कमजोर, बलियो र अति कमजोर बनेका तीनै अवस्था देखिएको छ।   

२०७० सालको संविधान सभाको निर्वाचनमा नेपाली जनताले ‘एक भोट दाईलाई एक भोट गाईलाई’ भनेर कमल थापाको राप्रपा नेपाललाई बलियो जनमत दिएको थियो। २५ जना संविधान सभा सदस्यसहित उनी ‘ब्याक’ भए। ०६४ को संविधान सभाको निर्वाचनमा गुमाएको साख फर्काउँदै राप तापसहित अगाडि आए। तर, जब उनी सत्ताको खेल र यात्रामा लागे हविगतको परिणाम अहिले भनिरहनु पर्दैन। ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमालेको सहयोगमा राजेन्द्र लिङ्देन मात्र सदनमा छिरे।

यो हुनुको कारण थापाको सत्ता यात्रा प्रमुख कारण मान्छन्, उनका विचारभोगीहरू। जो राजसंस्था, धार्मिक सापेक्षताको एजेन्डाका आधारमा जनताबाट अनुमोदित हुन्छ अनि त्यो मतलाई ठ्याक्कै सिद्धान्तको परस्परविरोधीसँग पद र सत्ताका लागि साँठगाँठ गर्छ भने परिणाम त त्यसैअनुसार आउँछ भन्ने उदाहरण हुन्, कमल थापा। गणतन्त्र घोषणा गरी त्यसको संविधान जन्माउने व्यवस्थापिकाभित्र ‘नोट अफ डिसेन्ट लेख्न’का लागि पाएको मतको दुरुपयोग, भ्रष्ट आचरण देखाएर सरकारमा गएका कारण कमल थापाको राजनीतिक बिरासत सकसपूर्ण र संघर्षपूर्ण बनेको छर्लङ्ग छ। किनभने यसको प्रभाव उनले पार्टी महाधिवेशनका क्रममा पराजयको स्वादमा पनि पाएका थिए। जसका कारण राजेन्द्र लिङ्देनको उदय भयो।

खासमा सत्ता सपार्ने औजारका रुपमा प्रयोग गर्नुपर्ने भए पनि नेपालको परिप्रेक्ष्यमा त्यो कति सफल अभ्यास बनेका छन्? कति बन्नेछन्? यो भूराजनीतिक विषयमा पनि जोडिन्छ। जनयुद्धको रापतापले व्यवस्था नै परिवर्तनसम्म गरेर राजनीतिक मैदानका खेलाडी बनेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ओरालो यात्रा पनि आँखा अगाडि नै छन्। त्यसैको उपजमा रास्वपाको पनि उदय भएको एउटा कारण मान्न सकिन्छ। 

यसर्थ, तत्काल जनतासँग भिज्दा राम्रो हुने थियो कि सरकारमा गएर काम गर्ने विषय भन्नेचाहिँ प्रमुख हो। रविका लागि यो सत्तायात्रा सहज छ भन्ने त देखिँदैन। जुन सरकारमा प्रधानमन्त्री रहँदा प्रचण्डजस्ता मानिसले काम गर्न पाइँन भनेर समीकरण फेर्नुपर्ने स्थिति आउँछ भने उपप्रधान र गृहमन्त्रीलगायतका मन्त्री कति घेराबन्दीमा पर्न सक्छन् भन्ने सामान्य आँकलन गर्न सकिन्छ। 

खाली सत्ताका लागि सत्ता हुने त्रास देखिएको छ। यो यात्रा रास्वपाको स्वर्णिम सपनाका निम्ति अल्पबिरामको सन्त्रास नबनोस्। जनताको फेरिँदो मनोविज्ञान जहिल्यै पनि सत्ताको विपक्षमा थियो, छ र रहनेछ। जनमुखि देखिने काम गरिएन र शक्तिको अपचलनमा लागियो भने कमल थापाकै पदचाप हुन सक्छ।

यसर्थ, यसै पनि विभिन्न विवादको घेराबन्दीमा रहेका सभापति रवि लामिछानेका निम्ति सरकारको यात्रा धारिलो खुकुरीमा हिँडेभन्दा कम देख्दिन म। बाँकी त स्वर्णिम वाग्लेलगायतका विद्वानहरूका अगाडि हाम्रो सामान्य टिप्पणी र मतको कति अर्थ रहला।
 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्