पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानि मुद्दा खारेज
पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ ।
जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानिको सूचना जारी गरेका थिए ।
खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो ।
चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए ।
द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताएको छ ।