Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालमा सत्ता समीकरण फेरबदलपछि सक्रिय छन् चिनियाँ राजदूत सोङ, भारत पनि छैन मौन 

मंगलबार, चैत ६, २०८०

काठमाडौं– नेपालमा नयाँ सत्ता समीकरण बनेसँगै चिनियाँ राजदूत छेन सोङ सक्रिय देखिएका छन्। 

एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतको समीकरण बनाउन सक्रिय रहेका माओवादी उपमहासचिव तथा अर्थमन्त्री बर्षमान पुनसँग सोङले मंगलबार भेट गरेका छन्।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको भोलीपल्ट अर्थात् चैत १ गते बालुवाटार पुगेका सोङ अन्य नेता र मन्त्रीसँग पनि औपचारिक अनौपचारिक वार्तामा सक्रिय रहेका छन्। 

अहिलेको समीकरण बनाउन चीन सक्रिय भएको चर्चाबीच उनको भेटवार्ताको गतिलाई हेर्दा अनुमानको सुविधा पाइने कतिपय कुटनीतिक मामिलाका जानकार बताउँछन्।

चिनियाँ पक्ष सक्रिय भए पनि नेपालको सत्ताको विषयमा चासो राख्ने भारतीय अधिकारीहरूले भने खासै टिप्पणी गरेका छैनन्। भारतीय विदेश मन्त्री एस जयशंकरले एउटा अन्तरवार्तामा ‘प्रधानमन्त्री प्रचण्डसँग केही महिनाअघि भएको भेटमा समीकरण फेरबदल हुने संकेत मिलेको’ बताएकोचाहिँ सतहमा आएको थियो।

उता, दुई महिनापछि हुने लोक सभा निर्वाचमा भारतीय जनता पार्टी केन्द्रित रहेका बेला नेपालमा सत्ता समीकरण परिवर्तनमा चीन हावी भएको विश्लेषण भइसकेको छ।  

भारतीय सत्ता नजिकका थिङ्क ट्याङ्कका सुझावका आधारमा भारतले समीकरण भत्काउनका लागि अनौपचारिक प्रयासको पूर्वाभ्यास समेत थालेको संकेत देखा परेको छ।

song-barshaman-1710827117.jpg

आफूलाई प्रधानमन्त्रीमा बाहल रहनका लागि कुनै समस्या नभएको बताउँदा बताउँदै माओवादी अध्यक्ष प्रचण्डले एमालेसहित बामपन्थीलगायत जोडेर समीकरण फेरेका थिए। जसलाई सुरुदेखि नै चीनको प्रभावका रुपमा लिइएको थियो। यसैलाई भत्काउनका लागि सेवा निवृत्त हुन लागेका भारतीय विदेश सचिव बिनयमोहन क्वात्राको ६ महिना पदावधि थपिएको विश्लेषण गरिएको छ। 

क्वात्रा भारतका लागि नेपालमा राजदूत भएर काम गरिसकेका अनुभवी छन्। यसअघि बलियो रहेको तत्कालिन नेकपा विभाजनसम्म पुगेपछि ६३ सिट मात्र रहेको कांग्रेसका सभापति शेरबहादुर देउवासहितको सरकार बनाउनका लागि उनको भूमिका प्रभावकारी भएको भारतीय संस्थापनको ठहर छ। त्यसबेला भारतीय दूतावासमा क्वात्राले अघिल्लो गठबन्धनका सबैलाई रात्रीभोज समेत दिएका थिए।  

नेपालमा दलाई लामासहितका चीन विरोधी व्यक्तिलाई ल्याएर लुम्बिनीमा बौद्ध सम्मेलनको तयारी भएपछि सत्ता राजनीतिमा हठात परिवर्तन भएको थियो। दलाई लामासहितको उपस्थिति हुँदा चीन बिरोधी गतिविधि बलियो हुने अध्ययन गरेपछि चिनियाँ पक्षले त्यसलाई रोक्न सरकारको समीकरण नै फेरिदिएको चर्चा समेत हुने गरेको थियो।

तर सत्तारुढ सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने यो समीकरण चिनले नबनाएको दाबी गरिसकेका छन्। उनले सार्वजनिक कार्यक्रममा र सदनमा पनि सम्बोधनका क्रममा ‘मैले फेरिदिएको हुँ, एमालेलाई जस दिनु नि। चीनले होइन’ भन्ने टिप्पणी गरिसकेका छन्। 
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:३०
प्रतिक्रिया दिनुहोस्