रवि लामिछानेको सत्तायात्राः धर्मयुद्धमा पाण्डवलाई साथ दिन हिँडेको शैल्य, कौरबका सेनापति
सटिक र छाटो टिप्पणीमा अनेक तर्कना आउँछन्। टिप्पणीकारले सामाजिक सञ्जालमा आफ्नो निजी बुझाईका आधारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अहिलेको अवस्थाबारे बिम्बात्मक प्रश्न राख्दा भिन्न मत आए। यद्यपि, त्यो बिम्बात्मक प्रश्नको ब्याख्यात्मक टिप्पणी यहि हो।
गीता सार नबुझेका राजनीतिज्ञ कमै मात्र होलान्। गीता सार भनेको महाभारतको कुरुक्षेत्रमा भगवान कृष्णले अर्जुनसँग गरेको धर्मयुद्धसम्बन्धी प्रवचन हो। हिन्दू होस् वा अन्य धर्मका विज्ञता यसलाई राजनीतिको मूलमन्त्र ठान्छन्।
राजनीति एउटा धर्मयुद्ध नै हो। सत्य र असत्यबीचको लडाईँ। थाहा छैन, महाभारतको युद्ध भयो कि भएन तर धर्मयुद्धचाहिँ भएको थियो र गीता जस्तो ग्रन्थको उत्पत्ति भयो। गीता सत्य किन पनि हो भने विश्वासका निम्ति न्यायालयमा समेत छुवाउने काम गरिन्छ।
नेपाली राजनीतिमा एउटा सत्यचाहिँ छ। ७० बर्षदेखिको व्यवस्था र अवस्था परिवर्तनका निम्ति जनता उकुस मुकुसबाट निस्कन चहान्छन्। जनता अन्यायमा परेका पाण्डवका सन्तान हुन्। जसमाथि लोकतन्त्र र गणतन्त्रका नाममा उदाएका नेताहरूले कौरबरुपी शासन चलाइरहेका छन्। सत्ताका निम्ति साम, दाम दण्ड भेद केही पनि बाँकी नराखी उनीहरूका मोल मोलाई चल्छन्।
शिर्षकमा उल्लेख गरेको राजा शैल्य कसरी कौरबका सेनापति भए? त्यसको प्रस्थानविन्दुमा उत्रिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राजनीतिक चारित्रिक चित्रण हुनेछ।
शैल्यको भूमीकाको पृष्ठभूमीतिर लम्किऔं।
जब पाण्डवका राजकाज खोसिए। छलपूर्वक प्रताडनामा पार्न खोजियो। श्रीकृष्ण धर्मयुद्धको निचोडमा पुगे। शान्ति वार्ताको प्रयत्न नगरेका होइनन् तर अन्याय हावी हुने भएपछि न्यायका लागि युद्ध अवश्यभावी थियो भन्ने निक्र्यौल भयो। र, युद्धको पूर्वाभ्यास सुरु भयो।
दु्रपदले पनि दूतहरूलाई ज्ञानी धार्मिक युधिष्ठिरको कल्याणका खातिर हरण भएको राज्य फिर्ता दिलाऊन सबै हाम्रा हितचिन्तक राजाहरूलाई यहाँ आऊन भनी सन्देश पठाए।
चारैतर्फका मित्रराज्यहरू पनि समाचार पाउनासाथ आफ्ना सैनिकहरू सहित मत्स्यदेशमा उपस्थित भए। यो कुरा दुर्योधनले पनि थाहा पाए र आफ्ना दूत पाठाई शक्ति सञ्चय गरे।
यसरी दुवै तर्फकाले आ–आफ्ना मित्र राज्यहरूमा सन्देश पठाए र सम्भावित युद्धका लागि तयार रहन लागे। पाण्डवको निमन्त्रण पाएर मद्रका राजा शैल्य शस्त्रास्त्र सेना लिई भानिजहरूको सहयोगका लागि बिराट नगरी जानका लागि हिंडे। जति–जति ठाउँमा मद्र । राजाको बास पर्दथ्यो ती–ती सबै स्थानमा कौरबहरूले आफूतर्फ मिलाउनका लागि आफ्ना मानिस पठाएर आदरपूर्वक सबै बस्ने व्यवस्था मिलाइदिए।
सेवा, चाकडी गर्नका लागि समेत चाकरहरूको व्यवस्था मिलाइदिए। शैल्य पनि यो सवै व्यवस्था पाण्डवको नै होला भनी तिनै तिनै स्थानहरूमा बास बस्दै हिंडे। एउटा बासमा अति राम्रो व्यवस्था देखेर खुशी भई जसले यो प्रत्येक बासमा यस्तो राम्रो स्वागत गर्यो त्यसको म खुशी साथ इच्छा पूर्ण गर्नेछु भनि प्रतिज्ञा गरे। कौरवहरू यो अवसरको प्रतीक्षामा थिए। यो खबर तुरुन्तै दुर्योधनले पाउनासाथ उपस्थित भई यो सबै व्यवस्था मैले गरेको हूँ भनी विन्ति चढायो।
पाण्डव र हाम्राबीच युद्ध हुने प्रवल सम्भावना छ। त्यसमा हजुरले हाम्रो सहायता गर्नुपर्ने छ, साथै मेरो सेनाको सेनापति हजुर नै बनि आफ्नो वचनको पालना गर्नु पर्दछ भनी दुर्योधनले भने।
शैल्य राजा बहुत सकसमा परे। आफ्नो सत्य कबोल सम्झेर पाण्डव र तिमी मेरा लागि एकैनासे हौ म तिम्रो सहायता गर्ने छु यसमा शंका नमानी घर जाऊ भने। यसरी दुर्योधनलाई बिदा दिएर शैल्यराजा केही खिन्न भए पनि कौरबका पक्षमा उभिन पुगे।
यो यस्तो राजनीति थियो कि शैल्यले चाहेर पनि भान्जाको सहयोग गर्ने स्थित भएन। आनन्दको भुलभुलैयामा रहे। जसरी राजकाजका विभिन्न बचनले अन्य बाँधिएका थिए, शैल्य पनि विवश भए। कौरबहरूका अनेक सेनापति मारिन, पराजित हुन थालेपछि त्यसको जिम्मेबारी शैल्यले पाएका थिए।
नर्कको सबैभन्दा अँध्यारो ठाउँहरू नैतिक संकटको समयमा आफ्नो तटस्थता कायम राख्नेहरूका लागि आरक्षित छन्। सम्भवतः रास्वपा र रवि लामिछानेका लागि यस्तो अवस्था नआओस् भन्ने कामना गर्दछु। किनभने, जनताका अनेक अपेक्षाहरू पनि नर्क पुग्न सक्छन्
ठिक, नेपाली राजनीतिमा चारै तिर कौरबहरूको घेराबन्दी रहेका बेला लामिछाने उपप्रधान र गृहमन्त्री लिएर सेनापति बन्न पुगेका छन्। उनले यो जिम्मेवारीमा रहँदा गठबन्धन गरेका दलका बिरोधीहरूमाथि प्रहार त गर्लान् तर साथसाथ हिँडेका कौरबहरूमाथि प्रहार गर्न सक्छन्?
आम निर्वाचनमा लामिछाने नेतृत्वको दललाई जनताले सरकारमा हतारिएर जाने जनमत दिएका हुन् कि होइनन्? यसको अन्दाज र विश्लेषण आवश्यक थियो कि थिएन भन्ने अहम् प्रश्न हो। एकथरी हल्लाबाजले यस्ता प्रश्न र तर्कलाई लामिछानेबिरोधी भनेर कुप्रचार गर्न सक्छन्। तर, राजनीतिमा आलोचना र सुझाव मुख्य हुन्छ। जनताको अहिलेको जनमत भनेको प्रश्न गर्नका लागि थियो तर उत्तर दिने ठाउँमा भ्रष्टहरूको गठजोडमा बस्न थिएन। प्रश्न गर्छु– के एमाले, माओवादी, जसपा, नेकपा एकीकृत समाजवादीका भ्रष्टलाई चलाउने ल्याकत रास्वपाले राख्न सक्छ? रवि लामिछानेले राख्न सक्छन् त?
जनतामाझ जनमत बटुल्न जाँदा कस–कसको आलोचना गरिएन? बा, नानीका बा, खै कसका बा भनेर चिच्याएर जनताको भावनाको मत लिएर आएर तिनै कौरबरुपी दलका नेताले दिएको ललीपपमा लोभिएर सत्तामा जान मिल्थ्यो? गौर हत्याकाण्डका मुखिया भनिएका उपेन्द्र यादवलाई लामिछानेले पक्राउ गर्न सक्छन्? गिरीबन्धु प्रकरणका मुख्य योजनाकार भनिएका एमाले अध्यक्ष केपी शर्मा ओलीतिर अनुसन्धान रड्काउन सक्लान्? युद्ध अपराधको अभियोग लागेका प्रधानमन्त्री प्रचण्डतिर औंलो सोझ्याउन सक्छन्? बालुवाटार प्रकरणमा आफैंले कारबाहीको माग गरेका, सीआईबीले समेत बयान लिएका माधवकुमार नेपालतिर नजर घुमाउन सक्लान्?
अनेक प्रश्नहरू छन्। यी सबै अभियोग लागेका नेताहरूले देशको गृह मन्त्रालय जिम्मा लगाएर लामिछानेलाई क्षणिक शक्ति त दिए तर यसको दीर्घकालिन असर छ। जसरी सुखसयलको बचन बद्धताले शैल्य सेनापति बनेर पनि युद्ध हार्न बाध्य भए यो भ्रष्टाचारविरुद्धको लामो युद्धमा गठजोडका सेनापनि लामिछाने बिजय हुने कुनै चान्स देखिन्छ त?
हेक्का होस् सामाजिक सञ्जालको ‘गुड लक’ले सत्तामा बस्दा लागेको मैलो मेटिँदैन। जनतासँग गरेका वाचा भनेकै एकल बहुमत ल्याएर सबै भ्रष्टलाई ठेगान लगाउने थियो, आफू कुर्सीमा ठेगान लाग्न थिएन। यसर्थ, प्रश्नहरूसँग नभागेको राम्रो, आफूमाथि उठेका प्रश्नको उत्तर दिएको राम्रो अन्यथा निरन्तर घोचिरहन्छ।
बिट मार्नुअघि कतै पढेको एउटा भनाई उल्लेख गर्छु। कि, नर्कको सबैभन्दा अँध्यारो ठाउँहरू नैतिक संकटको समयमा आफ्नो तटस्थता कायम राख्नेहरूका लागि आरक्षित छन्। सम्भवतः रास्वपा र रवि लामिछानेका लागि यस्तो अवस्था नआओस् भन्ने कामना गर्दछु। किनभने, जनताका अनेक अपेक्षाहरू पनि नर्क पुग्न सक्छन्।