Nic Ad Nic Ad
Nic Ad Nic Ad

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

बिहीबार, चैत ८, २०८०

काठमाडौँ- वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

samridhi jewllers

आकर्षक तलबको आस देखाउँदै न्यु जिल्यान्ड, कोरिया र मकाउ पठाइदिने भन्दै ठगी गरेको जाहेरीका आधारमा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–८, सिन्धुपाल्चोक घरभई हाल काठमाडौँ बौद्ध बस्ने ३५ वर्षीय पुरुषोत्तम गिरी, काठमाडौँ बुढानीलकण्ठ-६ की १९ वर्षीया श्रुति शाही, काठमाडौँ बुढानीलकण्ठ–१६ बालाजुकी ३५ वर्षीया मन्दिरा बोम्जन गुरुङ, टीकापुर-१ कैलाली घरभई हाल काठमाडौँको कोटेश्वर बस्ने २६ वर्षीया अस्मिता बम र भोक्राहा गाउँपालिका-४ घरभई हाल गोकर्णेश्वर बस्ने ३० वर्षीया अनिताकुमारी यादव छन्।

न्यु जिल्यान्ड पठाइदिने भन्दै आफूसँग ९० हजार रकम लिएको भन्दै जितमाया बलले दिएको जाहेरीका आधारमा पक्राउ सिन्धुपाल्चोकका गिरिलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

यस्तै पक्राउ परेकी शाही र गुरुङले कुमार खड्का नामका व्यक्तिलाई मकाउ पठाइदिने आश्वासन दिएर तीनलाख ९३ हजार रुपैयाँ लिएको जाहेरी परेको थियो। रकम बुझेर आफूलाई ठगेको भन्दै खड्काले दिएको जाहेरीका आधारमा दुवै जनालाई नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।

यस्तै पक्राउ परेकी कैलालीकी बमले दक्षिण कोरिया पठाइदिने भन्दै कृष्ण चन्दसमेत ३ जनाबाट ५ लाख ७३ हजार रकम बुझेर ठगी गरेको आरोप छ। आरोपकको जाहेरीका आधारमा बमलाई कोटेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उता सुनसरीकी यादवविरुद्ध राममाया तामाङले आफूलाई कतार पठाइदिने भन्दै ५० हजार लिएर सम्पर्कविहीन भएको आरोप लगाएकी छन्। राममायाको आरोपका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पाँचैजनालाई अपराध अनुसन्धान कार्यालयले थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्