केपी ओलीको फेसबुक स्टाटस र देउवाको छटपटी
यो लेख्नु भन्दा १२ घण्टा अगाडि फ्याट्ट केपी ओलीको फेसबुक पेजबाट एउटा स्टाटस सार्वजनिक भयो । ओलीको स्टाटस आइरहनु कुनै नौलो कुरा पनि भएन । उनलाई 'रूटिन अफ नेपाल बन्द' लाई माथ खुवाउने पेज बनाउन छ कि जस्तो देखिन्छ । आरजु देउवाले गत स्थानीय तहको निर्वाचन सकिने बित्तिकै भनेकी थिइन्, 'हामीलाई थाहा छैन र रूटिन अफ नेपाल बन्दले बालेनलाई जिताएको !'
ओलीलाई त्यसपछि आफ्नै पेज रूटिन अफ नेपाल बन्द जित्ने गरिको बनाउनु छु । आफ्नै जिक्री केशव स्थापितलाई हराएको तोडको पनि बदला लिनु छ । फेसबुकबाट चुनाव जिताउन र हराउन सकिन्छ भने त्यहि गर्दा भइहाल्यो बेकारमा अरू दुख किन गर्नु पर्यो भन्ने पनि लाग्यो होला ।
तर बालेनले जित्नुमा बालेनको अरूलाई कुरा बुझाउन सक्ने कला र उनका प्रतिष्पर्धीहरूको चरित्र, राजनीतिक परिवारवाद र पुरानासँग वाक्क भएका मतदाताहरूको मनस्थिति छ भन्ने आरजु र ओलीलाई कसले बुझाउनु ? रूटिन अफ नेपाल बन्दले स्थानीय चुनावमा नयाँहरूमा बालेनलाई मात्र होइन, असाध्यै धेरैका बारेमा पोस्ट गर्थ्यो । काठमाण्डौ भएपछि पुग्न सजिलो, लाइक आउने भए पछि बालेन नै प्यारो भन्ने कुरा त भीम उपाध्याय बाजेलाई पनि थाहा छ ।
खैर ! जे होस् । हाम्रो मुद्दा ओलीले रूटिन अफ नेपाल बन्द जस्तो रूटिन अफ केपी ओली बन्द चलाउन खोजेकोमा होइन । मुद्दा उनको स्टाटसको जहाँ उनले लेखेका छन्, 'हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रुपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ । आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ - 'तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?' हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन।'
स्टाटस पढ्ने बित्तिकै सुरुमा दिमागमा आयो, प्रचण्ड आफ्नै आइडीबाट पोस्ट गर । पछि सोचेँ, हजार मुसो खाएर बिरालो हजमा निस्कियो । फेरि सोचेँ, स्टाटसमा हाम्रो राजनीतिक वृत भनेको को को हो ? ओली स्वयम्, प्रचण्ड र देउवा । त्यति होइन ? अरू त बोलाएर खुरूरूरू कुदेर पुग्ने, नबोलाए घरमा खाँबो चिथोरेर बस्ने त हो । यी ३ जनाले ठ्याक्कै वृत बनाएका छन् । आलोपालो गर्दै ।
अहिले त त्यो आलोपालोमा मज्जाले हेर्ने हो भने ओली र देउवा मात्र छन्, प्रचण्डलाई कसले बोक्ने भन्ने आलोपालोमा । बोकिनेमा प्रचण्ड निर्विकल्प । प्रचण्डका बारेमा त के भनौँ, उनको महिमा गर्न हजार मुख भएका शेषनाघले पनि सक्दैनन् । के भन्छन् होला मान्छेहरूलाई सम्झाउन र मान्छे फिनिक्कै घुमेर उनलाई बोक्न ठिक्क पर्छ ! यो कला जानेको भए भष्मेश्वरको हातबाट बच्न महादेव पनि भाग्न पर्थेन, प्रचण्ड पारामा सम्झाइदिसक्थे ।
प्रचण्डले के केमा कुरा मिलेन अनि उग्र भएर दौडिरहेका र केहि समय अगाडि आफैले लात्तले हानेर बारीका पाटामा पुर्याइदिएका उनकै शब्दमा प्रतिक्रियावादी केपी ओलीलाई सम्झाएर आफ्नै डोले बनाए । अर्का डोले देउवा पुगे बारीका पाटामा । रन्थनिएका देउवा आफ्ना डोलेहरूसँग मिलेर संसदमा प्रतिपक्षी जस्तो गर्दै थिए, यहि बेलामा सभामुख, सबै पार्टीका प्रमुख सचेत र संसद सचिवालयका कर्मचारीहरू 'पिकनिक गर्न' युरोपतिर हिडिदिए । ढोका खोल्ने र बन्द गर्ने मान्छे नभएर संसद ८ दिन बन्द ।
यहि रन्कोमा रहेका देउवालाई ओलीको स्टाटसले छटपट बनाएको हुनु पर्छ । ओलीको स्टाटसमा प्रस्ट देखिन्छ, अबको पुरा कार्यकाल प्रचण्ड नै प्रधानमन्त्री हुन् । प्रचण्ड नै प्रधानमन्त्री भइरहनुको अर्थ हो, अब देउवा प्रचण्डको डोले बन्न पाउँदैनन् । प्रचण्डलाई बोक्ने अधिकार मेरै हो भनेका देउवाका लागि यो ठुलो प्रहार हो । यो प्रहारबाट बच्न उनी दिल्लीतिर गएर उपचार गराउन पनि सक्दैनन् । उता पनि चुनावको रन्को छ । छिमेकको कुर्सी भन्दा आफ्नै कुर्सीमा मिहिनेत गर्नु छ ।
भारतको निर्वाचन सकिउन्जेल देउवाको छटपटीको हद कहाँसम्मन् पुग्छ हेरेर बसौँ । नेताले कति न टुंगोको बोली गर्छन् भने जस्तै यीनै नेताले यसो भनेका छन्, अब यस्तो हुन्छ भन्दै नयाँ नयाँ विश्लेषण गरौँ । अरू त काम नै के छ र ?