मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो, ४ अपराधी पक्राउ
काठमाडौं- मस्कोस्थित कन्सर्ट हल (क्रोकस सिटी हल) मा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।
शुक्रबार राति मस्कोको क्रोकस सिटी हलमा भएको आतङ्कवादी हमलामा मृत्यु हुनेको संख्या १३३ पुगेको रूसको अनुसन्धान समिति (आइसीआर) ले अपडेट दिएको हो ।
घाइतेहरूको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आइसीआरले जनाएको छ । आन्तरिक मामिला मन्त्रालय र सङघीय सुरक्षा सेवाको परिचालन एकाईहरूसँग आफ्ना अनुसन्धानकर्ताले मिलेर काम गरिरहेको आईसीआरले जनाएको छ ।
मृतकको शवको जाँच भइरहेको छ भने अपराध स्थलबाट हतियार र गोलाबारुदसहितका सामग्री प्रमाणस्वरूप जफत गरिएको छ । घटनास्थलमा रहेका आरआईए नोभोस्ती समाचार संस्थाका सम्वाददाताका अनुसार नकावधारी आक्रमणकारीले शुक्रबार एक्कासी भवनभित्र पसेर गोली चलाउनुका साथै भीडमा विस्फोटक पदार्थ फ्याँकेका थिए ।
घटनाको जिम्मेवारी इस्लामिक स्टेट समूह (आइएसआइएस) ले लिएको र आफ्ना लडाकुहरूले आक्रमण गरेर सकुशल आफ्नो स्थानमा फर्किएको बताएको छ ।
यसैबिच, सो घटनामा संलग्न चार अपराधीहरू पक्राउ परेका छन् ।