Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

बालेन अर्थात् प्रणालीभित्र एउटा ‘आशलाग्दो’ बिद्रोहको श्वेत चरित्र

शनिबार, चैत १७, २०८०

काठमाडौं– जब काठमाडौंका सडकलाई कमाउधन्दाको थलो बनाएर महानगर कुरुप बनाउने कामलाई हटाउने अभियान जस्तो चल्यो अनि भनियो– मेयर निरंकुश भए। दयामाया र गरिबको खाने मेलो खोसिदिए। 

भनिन्छ नि, यदि समयले निरंकुशता माग्यो भने त्यो पनि दिन तयार हुनुपर्छ। खासगरी बिद्रोहको श्वेत चरित्रको एउटा चित्रण हो, यो। भ्रष्टाचारले आक्रान्त भएको नेपालको व्यवस्थापकीय प्रणालीमा लोकतन्त्रका नाममा सानो विन्दुदेखि नै राज्यले तोकेको अनुशासन उल्लंघन गर्ने प्रचलन छ। यसलाई तोड्दै काठमाडौं महानगरले विकासको नयाँ शैलीको थालनी गरेपछि अहिले स्थिति सुधारात्मक छ। 

अनुशासनहिनता कहाँसम्म देखियो भने, महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले एउटा भिडिओमा स्पष्ट भनेका छन्। विदेशी भित्रिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटलगायतका ठाउँ वरपरका फोहोर हटाउने अभियान महानगरले गरेको थियो। तर, त्यसलाई निरन्तरता दिनुको साटो स्थानीयहरू झन् फोहोर गर्न थाले। काठमाडौं छिर्नासाथ देखिने सुन्दर र सफा सहरको झल्को त विमानस्थल गेटबाट नै दिने होइन र? तर, महानगरअभियानविपरित काम भएपछि त्यसलाई लयमा ल्याउन धेरथोर त अनुशासन सिकाउन पनि पर्ने भयो नि, होइन र? 

राजनीतिमा केही त परिवर्तन हुन्छ भन्ने संकेतका रुपमा गत स्थानीयदेखि प्रतिनिधि सभाका निर्वाचनसम्मका परिणाम आए। जनता, खासगरी आजको पुस्ता प्रशासनयन्त्रको यथास्थितिवादभन्दा माथि उठ्न खोजिरहेको छ। त्यो उकुसमुकुसको परिणामका रुपमा देशकै सबैभन्दा ठूलो महानगरपालिकाको प्रमुखका रुपमा बालेन्द्र साह उर्फ बालेनको सनसनी उदय भयो।

यसको रापतापमा उपमेयरमा सुनिता डंगोल युवा पुस्ताकी नेत्रीको पनि स्थापित भयो। जबकि काठमाडौंका जनताले एमालेकी उम्मेदवार उपमेयरमा जिताउँदै गर्दा, मेयरमा किन पराजित गरिदिए त? हो, यहिँनेर देखिन्छ राजनीतिमा श्वेत क्रान्तिको अर्को चरण।  

बालेनले निर्वाचनअघिका कतिपय समाचारमाध्यम, टेलिभिजनलगायतका अन्तरवार्तामा उदय हुने विषयलाई कन्फिडेन्सका साथ घोषणा गरेका थिए। उनको यो कन्फिडेन्सको प्रभाव धरानदेखि धनगढी उपमहानगरपालिकासम्म देखियो। उदय मात्र ठूलो विषय होइन, त्यसको स्थायीत्व महत्व हुने टिकाटिप्पणी आजभोली हुने गरेको छ। त्यो स्थायीत्व जनताले चाहेको कामका आधारमा नै हुने रहेछ भन्ने उदाहरण बालेन नै पनि एक हुन्।

अहिले काठमाडौं सहरभित्रका सडक वरपरका फुटपाथ कति सुकिला र आधुनिक छन्, ठूला व्यवस्था र अवस्थाका कुरा गर्नेका लागि सानै भए पनि उदाहरण होइन र? 

स्थानीय तहको निर्वाचनमा देखिएको परिवर्तनको मत प्रतिनिधि सभाको निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको ११ लाख बढी मत पनि हो। यो बालेन उदयकै एक पदचापका रुपमा व्याख्या गर्दा उपयुक्त हुनेछ। किनभने, प्रतिनिधि सभा निर्वाचनसम्म पुग्दा स्वतन्त्र उम्मेदवारको जितको मत असामान्य मात्र थिएन, ठूलो हुन्डरी चलिसकेको थियो। त्यसमाथि नयाँ दलले नाम पनि राष्ट्रिय स्वतन्त्र पार्टी राखिदियो।

जनताले पत्याउन न त पत्याए। भ्रष्टाचार, कुशासन र त्यसका विरोधमा बेजोड आवाज उठाएर चुनावी मैदानमा भिडेको रास्वपा ‘ब्यालेड विद्रोह’को उदाहरण मान्न सकिन्छ त? टिप्पणीकारले त्यस्तो मान्दैन। यो बिद्रोहको एउटा पदचाप मात्र थियो भन्ने स्पष्ट छ।

बिद्रोह प्रणालीभित्र रहेर गरिने चिज भए पनि पाएको जनमत र त्यसको सन्देशको अर्थ बुझ्न सकिएन भने त्यो कुरुक्षेत्रमा हिम्मतका साथ चक्रव्युहमा छिरेको अभिमन्युको हविगत भन्दा केही हुँदैन। किनभने, चक्रब्युहमा छिरेपछि निस्कने कला जानिएन भने कस्तो परिणाम हुनेछ भन्ने व्याख्या गरिरहनु पर्दैन।       

यहि प्रणालीको खराब तत्वहरूसितको गठजोडले बिद्रोहको नयाँ रेखा कोर्ने सम्भावना देखिँदैन। जतिसुकै परिवर्तनको रेखांकन गर्छु भन्ने हाँक दिए पनि मूल नेतृत्वबिना त्यो सम्भव कहाँ हुन्छ र?

हो, यहाँ रास्वपा सत्ताको त्यो भाषमा छिरेका कारण केही उदाहरणको जगमा यत्तिचाहिँ अनुमान गर्न सकिने स्थिति थियो। दोस्रो पटक सत्तामा जाँदा सभापति रवि लामिछानेले ठूला माछा भनी सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरियो भन्न त भने तर मूल नेतृत्व आफ्नो अधिनस्त नहुँदा उनीमाथिको अनुसन्धान त प्रभावित भएकै छ। दुनियाँसामु जे कारण दिए पनि त्यो केबल खराब तत्वहरूसितको गठजोडमा बस्दाको बाध्यात्मक स्थिति बन्यो कि बनेन?

सबैभन्दा विशाल क्रान्ति वा विद्रोहहरू चुपचाप हुन्छन्। छायाँमा लुकेका हुन्छन् भनेर बुझ्न आवश्यक छ। काठमाडौं महानगर प्रमुख बालेन उतिसाह्रो बोल्दैनन् तर मौन हिसाबले राजनीतिमा पनि विकासको लयले जित निकाल्न सक्छ भन्ने परिणाममुखि काम देखाउन उद्दत छन्। 

आफ्नो जिम्मेवारीको क्षेत्राधिकार नरहेको तर आफ्नो मतदाताको टेरिटोरी रहेको क्षेत्रमा विकासका नाममा भत्काइएको सडक किन निर्माण भएन भनेर उनले निरन्तर प्रश्नोत्तर गरे। यति मात्र होइन, जनसूचनाका लागि महानगरको मातहतमा काम नभएका कारण चाँडो काम सक्नका लागि कलंकी–महाराजगञ्जसम्मको चक्रपथ क्षेत्रबारे उनले बेजोड प्रश्न उठाए। 

नेताले विकासका आधार मात्र दिँदैन, जुन क्षेत्राधिकार आफ्नो होइन तर जनताले सकस पाइरहेको छ भन्ने ठान्दछ भने प्रश्न उठाउन पनि सक्छ। देशको राष्ट्रियताको सवाल–जवाफमा ‘ग्रेटर नेपाल’को तस्बिरमुनि बसेर बालेनले यसै निर्णय गरिरहेका छैनन्, त्यो उनले भावी पुस्ताले राजनीतिको कुन शिरालाई समात्ने भन्ने मार्गचित्र पनि कोरिरहेका छन्। 

त्यसैले त उल्लासको पर्व होलीमा उनको एक बोली लाखौंका लागि हौसला, खुसी र उमंगको आभाष बनिदिन्छ। युवा जोसले आशावादी नेतालाई देखिरहेको छ भने ज्येष्ठ नागरिकका प्रतिक्रिया ‘हो, यस्तो विकासवादी प्रधानमन्त्री आवश्यक छ’ भनी दिन्छन्। त्यसैले बालेन विकासका निम्ति एउटा उत्प्रेरक प्रतिनिधिका रुपमा देखिएका छन् भने देशका निम्ति भने श्वेत बिद्रोहको आशालाग्दा नेतृत्वका रुपमा प्रतिस्थापन गरेर हाँक जमाउन सक्ने उदाहरण पनि मान्न सकिन्छ। 

स–साना र झिना मसिना असान्दर्भिक विषयका टिप्पणी गर्नेहरू त धेरै भेटिन्छन् लोकतन्त्रमा। किनभने, नेता विवादरहित कहाँ हुन्छ र? स्वतन्त्रता संग्रामको नेतृत्व गर्दा गान्धीको बिरोध नभएको होइन तर आज त्यहि देश आफूलाई संसारको ठूलो लोकतन्त्र भनेर दाबी गरिरहेको छ कि छैन? हेरौं, बालेनले आगामी साढे तीन बर्षभित्र कस्ता विकासे क्रान्ति गर्नेछन्। त्यसले उनको विकासे गतिको स्पष्ट उदाहरण दिने नै छ।
 

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्