Nic Ad Nic Ad
Nic Ad Nic Ad

बालेनले ल्याए काठमाडौंका सामुदायिक विद्यालयमा शैक्षिक सुधार, भर्ना हुने विद्यार्थीको चाप बढ्यो

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा शैक्षिक क्रान्ति नै सुरु भएको विभिन्न तथ्यांकले पुष्टि गरेको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले सामुदायिक विद्यालयमा सुधार ल्याएपछि यस बर्षको शैक्षिक सत्रमा निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुनेको संख्यामा उल्लेख्य बृद्धि भएको हो। 

महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप छ। 

दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्नराज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर), विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (वाफल), गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी), कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा विद्यार्थी भर्नाको चाप अत्यधिक रहेको छ। 

शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गते भर्ना अभियान सुरु भएको हो। यो क्रम ७ गतेसम्म चल्नेछ। 

भित्री सहरी क्षेत्रमा भएका सामुदायिक विद्यालयहरुमा भर्नाका लागि जनप्रतिनिधिहरु अहिले घरदैलोमा छन्। अभिभावकहरुलाई छोराछोरी नजिकको सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गर्दै उनीहरू घर–घर पुगेका हुन्। 

यसअघि यस्तो परिदृश्य देखा परेको थिएन। 

वडा नं. १८ को भक्त माध्यमिक विद्यालय (रक्तकाली) मा बालबालिका भर्ना गराउन आयोजना गरिएको प्रभातफेरीमा पुगेका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने,‘महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरु संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन् । यी त पूर्वाधार, साधन, स्रोत र उपकरणजस्ता भौतिक उपलब्धता, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि छन् । विद्यालयमा अहिले शिक्षा दिने मात्र होइन, सिप पनि सिकाइन्छ । प्रारम्भिक बाल विकासका कक्षाले बालमैत्री वातावरण तयार भएको छ । एकीकृत सिकाइ र शिक्षामा सिप कार्यक्रमले विद्यार्थीहरुको सिकाइको दायरा फराकिलो भएको छ ।’
यस्तो अभियान प्रायः सबै वडामा जारी छन्। जसका कारण सर्वसाधारण सामुदायिक विद्यालयतिर आकर्षित भएका छन्। यति मात्र होइन शैक्षिक गुणस्तरमा पनि व्यापक सुधार आएको छ। 

वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी भन्छन्,‘दरबार हाइ स्कूलमा भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीलाई भर्ना दिन कठिन छ ।’ 

कोटेश्वर सरस्वती माध्यमिक विद्यालय कोटेश्वरका प्रधानाध्यापक पुष्पराज कुँवरका अनुसार दिनको कक्षामा हाम्रो क्षमता १ हजार जना विद्यार्थीका लागि हो। विशीबारसम्ममा नयाँ ५ सय बढी विद्यार्थीको आवेदन आइसकेको छ । नयाँ आउने क्रम पनि जारी छ ।
गीतामाता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्छन्,‘हामीले राखेको लक्ष्य पूरा गराउन खोजेका छौँ । यस वर्ष ४ सय थप विद्यार्थी भर्ना लिने कि भन्ने छ।’ 

ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि १ हजार ८५० वटा फाराम वितरण गरेको थियो। नयाँ भर्ना सम्बन्धी जानकारी दिँदै प्रधानाध्यापक विष्णु घिमिरे भन्छन्,‘हामी ५५० जना नयाँ भर्ना लिन सक्छौँ। अहिले अभिभावकहरु आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भन्नुहुन्छ । थेग्न मुस्किल भएको छ ।’ त्रिपरेश्वरमा रहेको विश्व निकेतन माध्यमिक विद्यालयमा २ हजार वढीले निवेदन दिइसक्नु भएको छ । प्रधानाध्यापक हेरम्वराज कँडेल भन्नुहुन्छ, ‘हामी ४ सय नयाँ भर्ना लिन सक्ने अवस्थामा छौँ ।’ 

उनका अनुसार गएको वर्ष (शैक्षिक सत्र २०८० ) मा विद्यालयमा विद्यार्थीको संख्या ४ हजार ३ सय जना थियो। 

वडा नं. १२ व्रह्मटोलमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक रविना महर्जनले प्रारम्भिक बाल विकास कक्षाका लागि गएको सरस्वती पूजाकै अवसरमा ४५ जना विद्यार्थी भर्ना भइसकेका छन् । यस कक्षामा हामी ५० जनासम्म राख्न सक्ने बताए। 
शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जका प्रधानाध्यापक प्रकाश सुृवेदीका अनुसार बुधबारको संख्या हेर्दा १ दिनमा करिब २ सय जना भर्नाका लागि आएका थिए। 

कतिपय कक्षाको क्षमता सकिएको छ। नियमित विद्यार्थीहरु कायमै रहने हुनाले विद्यालयले एक बर्षमा १ सय जनादेखि १५० जनासम्म नयाँ विद्यार्थी भर्ना लिने गरेको छ। जनकल्याण माध्यमिक विद्यालय, बौद्धका प्रधानाध्यापक मञ्जु मग्रातीका अनुसार यस बर्ष २५० जना भर्ना गर्ने क्षमता छ। ८ सय जना विद्यार्थीहरुका आवेदन छ। गएको शैक्षिक सत्रमा विद्यालयमा २ हजार ४४८ विद्यार्थी थिए। यीमध्ये १६० जनाले एसईई परीक्षा दिएका थिए।   

विद्यालयहरुले विद्यार्थी भर्ना लिँदा पहिलो आउनेलाई प्राथमिकता दिएको प्रधानाध्यापकहरुको भनाइ छ। 

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ। सामुदायिक विद्यालयको संख्या ८९ हो। ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ। यीमध्ये ३ वटा कारागारभित्र छन्। 

४ वटा विशेष विद्यालय हुन्। एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय छन्। रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ। 

गएको शैक्षिक सत्र २०८० मा यी विद्यालयहरुमा करिब ४० हजार जना विद्यार्थीले अध्ययन गरेका थिए। यस बर्ष प्रारम्भिक बाल विकास कक्षाहरुमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ। विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्यालगायत सूचकका आधारमा विद्यालयहरुबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको हो। 

यस बर्ष ‘करले होइन रहरमा – हाम्रा बालबालिका सामुदायिक विद्यालयमा’ र ‘शैक्षिक रुपान्तरण अभियानमा सिर्जनात्मक सिकाइ, सामुदायिक विद्यालय अभिभावकको पहिलो रोजाइ’ नारासहित भर्ना अभियान चलिरहेको छ । बैशाख ९ गतेबाट कक्षा सञ्चालन हुनेछन्। 

सामुदायिक विद्यालयहरुमा ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमअन्तर्गत प्रारम्भिक बाल विकास कक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीलाई एकीकृत सिकाइ गराउन थालिएको छ। 

कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ क्रियाकलाप हुन्छन्। कक्षा ९ र १० मा शिक्षामा सिप कार्यक्रम नियमित चलिरहेका छन्। कक्षा कोठाहरुमा स्मार्ट बोर्डबाट सूचना प्रविधिमा आधारित शिक्षण क्रियाकलाप हुन थालेका छ। यस्ता कारण सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढेको हो। 

शिक्षकको क्षमता बढाउन शिक्षक तालिम सञ्चालन भएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि यस बर्ष करिब २ अर्व ७५ करोड रुपैयाँ बिनियोजित छ। यसरी गरिएको लगानीबाट दक्ष र आत्मनिर्भर जनशक्ति उत्पादनमा हुनेमा महानगरपालिकाको विश्वाश छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार