चार नेताको बन्धकमा सदन, लोकतन्त्रको सामूहिक बलात्कार
काठमाडौं– झट्ट सम्झनुहोस् त मुकेश कायस्थ। काभ्रेका ति पक्षघात भएका ज्युँदा शहीदको निधनको त्यो समय मात्र होइन, लोकतन्त्र प्राप्त भएको १८ बर्षभित्र देशको हविगत कहाँ पुग्यो त्यो पनि सम्झनुहोस् त।
जनआन्दोलनमा मारिएका १९ जना र जनयुद्धका नाममा मारिएका हज्जारौं मानिसका आत्मालाई सोध्नुहोस् त– लोकतन्त्र जिउँदो छ? चार दलका शीर्ष नेताको बन्धक बनेको सदनलाई हेरेर भन्नुस् त– लोकतन्त्रमाथि कति ठूलो बलात्कार भइरहेको छ।
अहिले सदन अथवा सत्ता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र रास्वपा सभापति रवि लामिछानेको बन्धक बनेको छ कि छैन? गहिरिएर सोच्नुहोस् र सरकार अनि समीकरणका विषयमा गहिरोगरी मनन गरौं त?
लोकतन्त्र त चिहानमा पुगेको आभाषमा छ। छ कि, छैन?
गठबन्धन बन्ने, भत्किने। एउटा सत्तामा पुग्ने अर्को प्रतिपक्षमा। फेरि प्रतिपक्ष सत्तामा पुग्ने र अर्को प्रतिपक्षमा। प्रदेश सरकारमा उलट पुलट। यस्तै क्रम बर्ष–बर्ष दिनमा। यो लोकतन्त्रको सामूहिक बलात्कार हो कि होइन? नयाँ भन्ने कि पुराना सबैको उहि चाल छ। सत्ता र कुर्सी भनेसी जनताका समस्या ज्युँका त्युँ। समाधान ननिस्कने। भाषण सुन्नेगरी भन्ने तर गर्नेगरी केही नगर्ने। अनि, भेडाँका हुलका हुल स्याल हुइँया पारामा साइबरमा कराउने। भनिन्छ नि साइबर स्याल।
सत्ताको खेल, चुनावी रन्को र सदनलाई मिलीजुली बन्धक बनाएर राख्ने नयाँ हुन् या पुराना नेता यीनको भ्रष्टाचार, ठगीको संलग्नताले लोकतन्त्र एउटी सामूहिक बलात्कारमा परेकी युवतीको प्रताडना समान बनिरहेको छ
यहाँ लोकतन्त्रको औजार चाहिएको, अनुभूति चाहिएका मिटरब्याज पीडित, सहकारी पीडित हुन्, छन्। साना, मझौला व्यापारी र बेरोजगार युवाले लोकतन्त्रको अनुभूति खोजेका छन्। त्यो हो बजार र व्यावसायको अवसर। तर, आँसुका धारा बगाएर देशमा थेचारिनुपर्ने एकातिर छन्, अर्कातिर परदेशको झोला बोक्न बाध्य छन्। अनि, राजनीतिक दलका हाँक हुन्छन्– परिवर्तन हामीले ल्याएको। अब न्याय हुन्छ। कहिले हुन्छ?
राजनीतिक दल र नेतालाई जनताको परनिर्भरता हटाउने लोकतन्त्र चाहिएको छैन। कसैलाई कागजमा लेखेको समाजवादमा पुग्ने गणतन्त्र जोगाउने खेल छ, अर्कातिर यो शासन भएन राजा फर्काउनुपर्छ भन्ने हुलको खाँचो छ। यसलाई लोकतन्त्र भनिन्छ?
अब त चिहानबाट निर्मला पन्तहरूले भन्नेछन्– हामी मात्र कहाँ बलात्कृत भएका रहेछौं त? यहाँ त लोकतन्त्रको सामूहिक बलात्कार भइरहेको छ।
जनताले लोकतन्त्रलाई वास्तविकताबाट विच्छेदन गरिएको स्वतन्त्रताको रूपमा प्रयोग गर्न पाउनुपर्ने होइन र? त्यो भएको छ त?
लोकतन्त्र एक तर्कसंगत दर्शनमा जरा गाड्नुपर्छ जसले सबैभन्दा पहिले व्यक्तिको अधिकारलाई मान्यता दिन्छ। नयाँ संसारमा धेरै थोरै संख्यामा मानिसहरूको जीवनको लागि चिच्याइरहेका केहीले चुनाव जित्न सक्लान्। जित्छन् पनि। तर, यसले जनताहरूलाई ती जीवनको अधिकार दिँदैन, दिएको छैन।
लोकतन्त्र न्याय वा स्वतन्त्रताको पर्यायवाची होइन। प्रजातन्त्र कुनै पवित्र अधिकारलाई पवित्र पार्ने भीड शासन होइन। लोकतन्त्र भनेको व्यक्तिको अपरिहार्य अधिकारको अधीनमा रहेको सिद्धान्त हो। तर यो सिद्धान्तको उपयोग नेपाली जनताले गर्न पाएको छ त?
कार्यकर्ता र समर्थकको हुलको गाली र प्रश्न, वाद र प्रतिवादमा भुईँमान्छेले उपभोग गर्ने लोकतन्त्रको सामूहिक बलात्कार हुँदा टुलुटुलु हेरेर बस्नुपर्ने कस्तो नियती भोगीरहेका छौं?
तिनै जिउँदा शहीद मानिएका कायस्थको योगदानलाई कसले बुझ्ने? दोस्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो। १७ वर्षको उमेर पुग्दासम्म पनि उनी अर्धचेत अवस्थामा थिए।
२०७५ असारमा अचानक बिरामी परेपछि फेरि अर्धचेत भएका थिए। तिनको निधनअघि अहिलेका नेताको अनुहारलाई मुल्यांकन गर्दा कस्तो अनुभूति हुन्छ?
सत्ताको खेल, चुनावी रन्को र सदनलाई मिलीजुली बन्धक बनाएर राख्ने नयाँ हुन् या पुराना नेता यीनको भ्रष्टाचार, ठगीको संलग्नताले लोकतन्त्र एउटी सामूहिक बलात्कारमा परेकी युवतीको प्रताडना समान बनिरहेको छ।