Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण धकेलियो प्रहरीको डीआईजी बढुवा, को–को हावी छन्?

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं– नेपाल प्रहरीको रिक्त तीन वटा प्रहरी नायव महानिरिक्षक (डीआईजी) पदमा बढुवाका निम्ति नियम मिच्नका लागि गृहमन्त्री रवि लामिछानेले जोडबल गर्दा धकेलिएको छ।

प्रहरीमा बढुवाका निम्ति ज्येष्ठता, कार्यक्षमता हेरिने गरिन्छ। तर, कार्यक्षमताअनुसार मात्र गर्न लामिछानेले निर्देशन दिँदा डीआईजी बढुवा धकेलिएको उच्च स्रोतले जनाएको छ। 

आफ्नो मातहतको निकायको बढुवाको विषयमा गृहमन्त्री लामिछानेको निर्देशन स्वभाविक मान्न सकिए पनि प्रहरीको बढुवा गर्दा हेरिने कार्य सम्पादन मुल्यांकनको विधिमा भने निर्देशन अस्वभाविक देखिन्छ। 

त्यहाँमाथि अहिले बढुवा हुने डीआईजी मध्य एक जना भावी आईजी बन्ने सम्भावना रहनेछ। 

लामिछाने उत्कृष्ट काम गरेको भनिएका प्रहरी बरिष्ठ उपरिक्षकद्वय एसएसपीहरू दानबहादुर कार्की र डा. मनोज केसीलाई बढुवा गर्न चहान्छन्। यसो गर्दा उनीहरूभन्दा बरिष्ठ अधिकारी रहेका प्रहरी अधिकारी छुट्ने सम्भावना रहन्छ। 

रिक्त तीन जनामा दुई जना नै कनिष्ठ अधिकारीलाई बढुवा गर्दा प्रहरीमा असन्तुष्टि बढ्ने सम्भावना रहन्छ। खासगरी डीआईजी बढुवाका लागि ४ ब्याचका अधिकारीको दाबी रहेको छ। ०५१, ०५२, ०५३ र ०५४ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर)मा भर्ती भएकाहरू दौडमा छन्। कार्की र केसी सबैभन्दा तल्लो ०५४ ब्याचका हुन्। 

यसअघि प्रहरीमा बढुवा गर्दा बरिष्ठदेखि कनिष्ठसम्म मिलाएर गर्ने प्रचलन थियो। यद्यपि राजनीतिक दलका नेता हावी नहुने भन्ने थिएन।

बढुवालाई थाँती राखेर प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर फ्रान्समा भएको सुरक्षा सम्मेलनमा सहभागी हुन गएका कारण केही धकेलिए पनि उनी आउनासाथ बढुवा प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। तर, त्यो पेचिलो हुने सम्भावना रहेको छ।  

अहिले २०५३ को ब्याचबाट डीआईजी बढुवाको प्रतिस्पर्धामा सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी छन्। यीबाहेक जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल प्रतिस्पर्धामा छन्।

यो ब्याचभन्दा सिनियर ब्याच ०५१ र ०५२ का अधिकारी पनि बढुवाका निम्ति कुरेर बसेका छन्। डीआईजी बढुवा कसरी हुनेछ, त्यो हेर्नचाहिँ बाँकी छ। 

गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदाप्रसाद चौधरी बढुवाको प्रतिस्पर्धामा छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्