Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागलुङको सय वर्ष पुरानो तामाखानी अध्ययन अनुमतिपछि स्थानीय उत्साहित

बुधबार, वैशाख १९, २०८१

गल्कोट-खानी तथा भूगर्भ विभागले बागलुङको तमानखोला गाउँपालिकामा रहेको तामाखानीको अवस्था अध्ययन अनुमति दिएपछि स्थानीय उत्साहित भएका छन् । 

एक सय वर्षदेखि बन्द अवस्थामा रहेको भनिएको तामाखानी अध्ययनका लागि सरकारले अनुमति दिएपछि सो क्षेत्रका स्थानीय पुनः खानी सञ्चालनमा आउने आशासहित उत्साहित भएका तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । “तामाखानी उत्खनन्का लागि पटक पटक आवाज उठाइँदै आएका थियौँ । म नेतृत्वमा आएपछि पनि पटक पटक यो विषयमा कुरा भएको थियो । ढिलै भए पनि अध्ययन अनुमति दिइएको पत्रप्राप्त भएपछि हामी उत्साहित भएका छौँ”, अध्यक्ष बुढाले भने । खानी तथा भूगर्भ विभागले श्रेया जलान समूहलाई अध्ययनका लागि अनुमति प्रदान गरिएको जानकारी आएको उनले बताए । 


विभागका जियोलोजिष्ट रवि आचार्यले पनि तमानखोला गाउँपालिकाको ११ वर्ग किलोमिटर क्षेत्रफलमा तामाखानी अध्ययनका लागि आगामी २०८४ असोज १४ गतेसम्म चार वर्षका लागि अध्ययन अनुमति दिइएको बताए । तामाखानीको अध्ययन प्रतिवेदनका आधारमा थप रणनीतिसहित सरकारले आवश्यक काम गर्ने पनि उनले बताए । 

तामाखानीको अध्ययन गर्नका लागि अनुमति पाएपछि स्विडेन र अस्ट्रेलियन भूगर्भविद्सहितको टोलीले अध्ययनकार्य अगाडि बढाउने तयारी भइरहेको श्रेया जलानका प्रतिनिधि भूगर्भविद् बलराम कार्कीले बताए । “तमानखोलामा रहेको तामाको अवस्था अध्ययनपछि थाहा हुनेछ । त्यसको गुणस्तर, उत्खनन् गर्न सकिने समय, उत्खनन् गर्दा आउने तामाको बजार मूल्यलगायत विषयमा हामीस्ले विज्ञसहित गहन अध्ययन गर्नेछौँ । अध्ययनका आधारमा थप रणनीति बनाउन पहल गरिने छ” कार्कीले भने । 

तमानखोला गाउँपालिका-६ नर्जाखानीसहित तमानखोला क्षेत्रमा एक सय वर्षअघिसम्म तामाखानी उत्खनन् हुने गरेको स्थानीयको दाबी छ । अहिले पनि तमानखोलाको नर्जाखानी, भित्रिवन र पात्लेगाउँनजिक तामाखानीका सुरुङ र अवशेष बाँकी छन् । रैथाने छन्त्याल जातिले घरेलु प्रविधिबाट तामा निकाल्ने गरेकामा तत्कालीन सरकारले कर उठाउने थालेपछि विसं १९८१ देखि तामा निकाल्न छोडेका जानकारहरूको भनाइ छ । त्यसयता तामाखानीको अध्ययनका गाउँलेहरूले पटक-पटक प्रयास गर्दै आएका थिए । 

“तामाखानी छ भन्ने विषय यहाँको भौगोलिक अवस्थाबाट पनि प्रस्ट हुन्छ । अहिले पनि त्यो सम्भावना कायमै छ तर कति तामा छ, कति वर्षसम्म उत्खनन् गर्न सकिन्छ भन्नेबारेमा अध्ययनको आवश्यकता हो”, गाउँपालिका अध्यक्ष बुढाले भने,“पहिलो पटक अध्ययनका लागि चार वर्षलाई अनुमति दिएको पत्रप्राप्त भएपछि हामी निकै उत्साहित भएका छौँ । ढिलै भए पनि तामाखानीबाटै तमानखोलालाई समृद्धि बनाउने हाम्रो सपना पूरा हुने आशा जागेको छ ।”

नर्जाखानीमा तामा खनेको एक किलोमिटर भन्दा लामा सुरुङ रहेको छन् । तामाखानी उत्खनन गरेर सञ्चालनमा ल्याउन सके स्थानीय स्तरमा रोजगारी सिर्जनाका साथै राज्यले आर्थिक लाभलिन सक्ने स्थानीयको बुझाइ छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्