Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाही कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, व्यवस्थापनमा समस्या

सोमबार, वैशाख २४, २०८१

बरहथवा– जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । 

samridhi jewllers

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले जानकारी दिए ।

जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए।

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचाकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ ।

जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए। जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्