Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी

सन्दीप लामिछानेका पक्षमा उठिरहेको जनलहरको अर्थ

शनिबार, वैशाख २९, २०८१

काठमाडौं– एउटा भनाई छ– ‘जस्टिस डिले इज जस्टिस डिनाई।’ यहि मेसोमा नेपाली क्रिकेटको राष्ट्रिय टोली पूर्वकप्तान सन्दीप लामिछानेले यसै साता सामाजिक सञ्जालमार्फत आफू दोषी भए जीन्दगीभरी जेल हाल्नु र निर्दोष भए न्याय दिन किन ढिलाई भयो भन्ने प्रश्न मात्र गरेनन्, फसाईएको दाबी गरी नाम सार्वजनिक गर्ने घोषणा गरे। 

अमेरिकामा अंग्रेजीको आगामी महिना टी–२० विश्वकप प्रतियोगिता हुँदैछ। नेपालको टोली पनि अमेरिका पुगिसकेको छ। एउटा क्रिकेटरका लागि यो अवसरमा सहभागी हुन नपाउने, कुशल क्रिकेटरले खेल गुमाउने चिन्ता मात्र होइन, देशका निम्ति सम्भावित सफलतामा धक्का लाग्नेमा पनि आम साधारणको चासो छ। यो चासोमा अड्किएको छ, सन्दीप लामिछानेबारे उच्च अदालतको आदेश या फैसला।

उच्च अदालत पाटनले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर पन्छाइरहेका बेला आम साधारणलाई लाग्न थालेको छ–सन्दीपको करिअरलाई ध्वस्त बनाउने रणनीति सफल हुँदैछ र देशले एउटा राम्रो क्रिकेटर गुमाउँदैछ। 

जिल्ला अदालतको फैसलामा पनि प्रश्न उठाउने ठाउँ छन्। महिला अधिकारकर्मीलगायतको दबाबमा सन्दीपविरुद्धको फैसला आएको यसै पनि भन्न सक्ने अवस्था छ। किनभने, पहिलो त मुद्दा दायर हुँदा नाबालिगसँग सम्बन्ध कायम गरेको भन्ने थियो। 

कागजपत्रदेखि सबै प्रमाणले त्यसलाई पुष्टि गर्न नसकेपछि यो फैसलामा दुई जना एउटा कोठामा हुनुलाई पनि बलात्कार भएको मान्न सकिने भनी उल्लेख भयो। अर्थात्, अनुमानका आधारमा आदेश वा फैसला सुनाइयो, यहिँनेर आम साधारणले प्रश्न गरेका हुन्। यति मात्र होइन सन्दीपको व्यक्तित्वको दुरुपयोग भनी व्याख्या गरिएको छ। यस्तो त अपव्याख्याको सीमाबिहीन तर्क जस्तो लाग्दैन र?

फेरि केही अधिकारकर्मी यहाँ ‘कन्सेन्ट’को कुरा पनि उठाइरहेका छन्। दुई जनाबीचको विषयमा कन्सेन्टको कुरा तेस्रो व्यक्तिले बोलिदिने हो र? जसरी पल शाहको मुद्दामा मिस लिड भएका कतिपय तथ्य बाहिर आए, अदालतले पछि फरक फैसला दिन बाध्य भयो। 

अदालतमा विचाराधिन यो विषयले छिटो बाटो फुकाओस् भन्नुको विकल्प छैन। 

तर जति बिलम्ब भयो त्यति नै सन्दीपको न्यायको लागि भनेर जनलहर एककीृत हुन थालेको छ। यो जनलहरले उच्च अदालतमा ताला लगाउनेसम्मको अभियान मात्र होइन, माईतिघर मण्डलामा पनि घेराउ गर्न थालिसकेको छ। 

यो जनलहर त्यसै आएको होइन। नेपालको उदाउँदै गरेको क्रिकेटको सम्भावनामा ठेस लाग्नु हुँदैन भन्ने मनसायको हो। खास अर्थमा भन्नुपर्दा यो सन्दीपको निजी करिअरका लागि मात्र युवा पुस्ताले उठाएको आवाज होइन, देशको भविष्यको निम्ति हो। 

त्यसैले त नारा लगाइन्छ– दोषी भए सजाय देऊ, निर्दोष भए खेल्न देऊ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्