जेठका लागि बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?
काठमाडौं - वाणिज्य बैंकहरूले जेठ महिनाका नयाँ ब्याजदर सूची सार्वजनिक गरेका छन् । जसअनुसार वैशाखको तुलनामा बैंकहरूले निक्षेपमा दिने औसत ब्याजदर घटाएका छन् ।
जेठमा १९ वटा बैंकहरूको ब्याजदर ०.०७ प्रतिशत घटेर व्यत्तिगततर्फ ७.०७ प्रतिशत र संस्थागततर्फ ५.८९ प्रतिशतमा झरेको छ । बैशाखको तुलनामा जेठमा ९ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने तीन बैंकले बढाएका छन् ।
सार्वजनिक सूचीअनुसार एनएमबी, एभरेस्ट, सानिमा, सिद्धार्थ, नबिल, सिटिजन्स, प्राइम, राष्ट्रिय वाणिज्य र एसबीआई बैंकले ब्याजदर घटाएका हुन् । तर, एनआईसी एशिया र ग्लोबल आइएमई र प्रभु बैंकले जेठमा ब्याजदर बढाएका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपमा ७ बैंकले वैशाखकै दरलाई यथावत राखेका छन् । लक्ष्मी सनराइज, कुमारी, नेपाल, नेपाल इन्भेस्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड, हिमालयन र माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै दरलाई यथावत राखेका छन् ।