नेपाल टेलिकमले चालु आवको तेस्रो त्रैमासमा साढे ५ अर्ब नाफा कमायो
काठमाडौं - नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ ।
नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणमार्फत ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको जनाएको हो ।
टेलिकमको यो नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ३.३५ प्रतिशतले बढी हो । गत वर्ष टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
चैतसम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ । टेलिकमले गत वर्ष २७ अर्ब ३४ करोड रुपैयाँ सञ्चालग आम्दानी गरेको थियो । हाल कम्पनीको सञ्चालन आम्दानी घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यस्तै, वित्तीय आम्दानी पनि ५ अर्ब ७० करोडबाट घटेर ५ अर्ब १८ करोड रुपैयाँमा झरेको छ ।
टेलिकमको अन्य स्रोतबाट हुने आम्दानी भने बढेको छ । उक्त आम्दानी १६ करोड ११ लाख रुपैयाँबाट बढेर ५३ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । हाल कम्पनीको प्रतिसेयर आम्दानी अहिले बढेर ४१ रुपैयाँ ४४ पैसा छ । गत वर्ष प्रतिसेयर आम्दानी ४० रुपैयाँ ९ पैसा थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ५ सय १२ रुपैयाँ ९९ पैसा छ ।