यसरी ७६(३) को प्रधानमन्त्री बन्ने खेलमा छन् ओली
काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका नेपथ्यमा बलियो रहेको थियो।
अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला एमालेका उपाध्यक्ष समेत भइसकेका अशोक राईको नेतृत्वमा जसपा विभाजन गराउन ओलीको भूमिका बलियो रह्यो।
राईको अध्यक्षतामा अर्को पार्टी गठन भयो, ७ जना सांसदसहित। राजनीतिक दलसम्बन्धी विधेयक निस्क्रिय नभइसकेको अवस्थामा यो खेलमा ओली एक कदम सफल भए।
त्यसअघि उनले विवादमा रहेको रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति पार्टी पनि विभाजनको रेखा कोरिसकेका थिए, नेपथ्यमै रहेर।
सरकारको समीकरण परिवर्तन गर्न सफल भएका ओलीले यी सबै ग गर्नुको पछाडीको खास कारण रहेको उच्च स्रोतले जनाएको छ। प्रतिनिधि सभामा अहिले दोस्रो दल रहेको एमालेलाई पहिलो बनाउनका लागि उनको कसरत छ।
यसको पनि कारण छ। अहिले नेपाली कांग्रेस ८८ सांसदसहित पहिलो दलको हैसियतमा छ। अब नौ सांसद मात्र पनि आफ्नो पार्टीका भित्राउन सके ओली पहिलो दलका संसदीय दलको नेता पनि बन्नेछन्।
यसपछि सत्ताको खेलमा प्रधानमन्त्रीको कुर्सी संविधानतः उनका नाममा नै प्राथमिक चरणमा हुनेछ। यसैले कांग्रेससँग यस बेला मिल्ने भन्दा पनि त्योभन्दा ठूलो दल कसरी बनाउने भन्नेमा ओलीको ध्याउन्न रहेको बताइन्छ।
‘अशोक राईको पार्टी र नागरिक उन्मुक्ति समेत एमालेमा एकीकरण गरी ठूलो पार्टी बनाउने चाहनामा छन् ओली। केही स्वतन्त्र सांसदलाई पनि भित्राउने तयारी उनले गरेका छन्’, उच्च स्रोतले भन्यो।
यति मात्र होइन एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा रहेका सांसदलाई पनि एमालेमा रातो कार्पेट विच्छ्याएर ल्याउने तयारीमा ओली रहेका छन्।
यसले ८ सिट मात्र धेरै रहेको कांग्रेसभन्दा ठूलो बन्न सक्ने अवस्था आउँदा ओलीले अहिलेको सरकार गिराएर संविधानको ७६(३)अनुसार ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको दाबी गर्ने तयारी गरेको बुझिन्छ।
एमालेसँग अहिले ७८ सांसद छन्।
जसको पहिलो मुभमा ओली सफल भएका छन्। जसपा विभाजन मात्र भएको छैन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान र स्वास्थ्यमन्त्रीबाट राजीनामा समेत दिइसकेका छन्।