सहकारी ठगीमा संसदीय समिति नबन्दासम्म कांग्रेसले सदनमा नीति तथा कार्यक्रम ल्याउन नदिने
काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने नेपाली कांग्रेसले निर्णय गरेको छ।
सोमबार धुम्बाराहीमा पार्टीको पदाधिकारी बैठकमा यहि निर्णय भएको छ। मंगलबार प्रतिनिधि सभाको बैठक डाकिएको छ जहाँ बजेटका निम्ति नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा सरकार रहेको छ।
सहकारी ठगलाई कुनै नेता वा पार्टीले संरक्षण गर्दैमा कांग्रेस चुप लागेर नबस्ने बैठकपछि रमेश लेखकले बताए।
सदन चलाउने, नीति तथा कार्यक्रम ल्याउनका लागि के गर्ने नगर्ने भन्ने सरकारको विषय रहेको बताउँदै उनले संसदीय समिति नबनेसम्म कांग्रेस एक इञ्च पनि ब्याक नहुने जानकारी दिए।
कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ। यसअघिको बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने बैठकका क्रममा भनेका थिए।
कांग्रेसको माग सुनुवाई नभई सदन अगाडि बढ्न खोज्दा सांसदहरू वेलसम्म पुगेका थिए।