Nic Ad Nic Ad
Nic Ad Nic Ad
मंगलबार सुनुवाई

सन्दीप लामिछानेले विश्वकप खेल्न पाउलान् कि नपाउलान्, न्यायधीशको चित्तले के भन्ला?

सोमबार, वैशाख ३१, २०८१

काठमाडौं– सडकदेखि माइतिघर मण्डलासम्मको दबाबमा परेको क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा जिल्लाको फैसलाविरुद्ध दिएको निवेदनमा सुनुवाई होला कि नहोला भन्ने अन्यौल छ। 

हेर्न नभ्याइनेमा परिरहेको उनको निवेदन मंगलबारका लागि पनि सुनुवाईमा राखिएको छ। त्यसको सुनुवाई हुनुपर्ने जिकिरमा छन् उनका कानुन व्यावसायी बरिष्ठ अधिवक्ता शम्भु थापादेखि रामनारायण बिडारीसम्म।

क्रिकेटप्रेमी तथा सन्दीप लामिछानेका समर्थकले मंगलबार सुनुवाई हुने विश्वास मात्र राखेका छैनन्, उनले अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० क्रिकेट विश्वकप प्रतियोगितामा सहभागी हुने मौका समेत पाउने अपेक्षा गरेका छन्। 

सन्दीपको न्यायका निम्ति अहिले एउटा समूह अदालतविरुद्ध नै सडकमा उत्रिएका कारण विषय पेचिलो बनिरहेको छ। यहि अभियानका एक जना डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। 

उनीलगायतकाले सर्वोच्च अदालत अगाडि धर्ना दिन खोजेका थिए।

नेपाललाई विश्वकपसम्म छिराउनका लागि सन्दीपको भूमिका प्रधान रहेको भनी त्यो खेलका लागि योग्यता कायम गर्न दबाब पनि परिरहेको छ। यदि मुद्दा सुनुवाईमा चढेको खण्डमा बरिष्ठ अधिवक्ताहरूले सन्दीपलाई विश्वकप खेल्ने अनुमतिसहित विदेश जानका लागि आदेश दिन बहस पैरवी गर्ने पक्कापक्की छ। 

एका कानुनकर्मीे भन्छन्,‘बरिष्ठ अधिवक्ताको यस्तो जिकिर आएको खण्डमा न्यायाधीश कन्भिन्स हुने स्थिति हुन्छ, चित्तमा लाग्न पनि सक्छ। तर, पहिला सुनुवाईचाहिँ हुनुपर्छ।’

यता सन्दीपका विषयमा व्यापक चर्चा भइरहेका बेला उता नेपाली टोली अभ्यास खेलमा लम्किसकेको छ। सन्दीप अमेरिका जान पाएको खण्डमा टीममा पर्न सक्ने सम्भावना बलियो छ। आईसीसीले टिम हेरफेरका लागि कायम गरेको मितिभित्र सन्दीपले अदालतबाट अनुमति पाइसक्नुपर्ने हुन्छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:४६
प्रतिक्रिया दिनुहोस्