चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टेण्डर रद्द
चितवन - भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणलागि आह्वान गरिएको बोलपत्र (टेण्डर) रद्द भएको छ।
भरतपुर महानगरपालिकाले आज (मंगलबार) एक सूचना जारी गर्दै २०८० फागुन १७ गते आव्हान गरिएको बोलपत्र २०८१ को बैशाख ३१ गतेको निर्णय अनुसार रद्द भएको जानकारी दिएको हो। भरतपुर महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्र देव भारतीले सार्वजनिक खरिद अनुमगन कार्यालयले ठेक्का प्रक्रिया नियमसंगत नभएको उल्लेख गरेसंगै ठेक्का रद्द भएको जानकारी दिए । महानगरका इन्जिनियर साकार लामाले एउटा मात्रै कम्पनीको टेण्डर परेको र अन्य ठेक्का प्रक्रिया नियमसंगत नभएकाले टेण्डर रद्द गरिएको जानकारी दिए ।
महानगरका अनुसार भोलि नै नयाँ ठेक्का आह्वान हुनेछ । भरतपुर महानगरले पहिलो चरणको निर्माणका लागि १ अर्बभन्दा बढीको ठेक्का आह्वान गरेको थियो। भरतपुर–१५ मा अलपत्र अवस्थामा रहेको रंगशालालाई पहिलो चरणमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र १५ हजार दर्शक क्षमताको प्यारापिट बनाउने गरि ठेक्का आव्हान भएको थियो। गत कात्तिकमा बागमती प्रदेश सरकारको ७० र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निमार्ण सम्झौता गरेका थिए।
गत कात्तिकमा यो रंगशालालाई संघीय सरकारले पनि राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको थियो । विसं २०७५ सालमा २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बनाउन थालेको धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड बढी ऋण लागेपछि रंगशालाबाट हात झिकेको थियो ।