पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा
काठमाडौँ- देशभर बन्दै गरेका पाँच क्रिकेट रंगशाला सरकारको प्राथमिकतामा परेका छन् ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले क्रिकेट रंगशाला निर्माण र खेलकुद विकास सरकारको प्राथमिकता भएको उल्लेख गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने बताइएको छ । काठमाडौँको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख गरिएको छ ।
चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा अघि बढाइने सरकारले जनाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।
त्यस्तै नीति तथा कार्यक्रम घोषणामा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा विजयी नेपाली खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्नुका साथै जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेसमेत उल्लेख गरिएको छ ।