हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
एजेन्सी-विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा ४० प्रतिशत मृत्यु हृदयाघातबाट हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ । सङ्गठनले युरोपेलीहरूसँग नुनको सेवन कम गर्न पनि आग्रह गरेको छ ।
डब्ल्युएचओको युरोप शाखाका निर्देशक हान्स क्लुजले नुनको सेवनलाई २५ प्रतिशतले कम गर्ने लक्षित नीतिहरू लागू गर्दा सन् २०३० सम्म हृदयाघातबाट करिब नौ लाख मानिसको ज्यान बचाउन सकिने जनाएका छन् ।
युरोपमा ३० देखि ७९ वर्षबीचका तीन वयस्कमध्ये एकजना उच्च रक्तचापबाट पीडित छन् । रक्तचाप प्राय: नुनको अधिक सेवनले हुन्छ । डब्ल्युएचओको युरोपेली क्षेत्रका ५३ मध्ये ५१ मुलुकमा औसत दैनिक नुनको सेवन डब्ल्युएचओले सिफारिस गरेको अधिकतम पाँच ग्राम वा एक चम्चाभन्दा बढी हुन्छ । यसको मुख्य कारण प्रशोधित खाद्य पदार्थ र स्न्याक्स हो ।
'नुनको उच्च सेवनले रक्तचाप बढाउँछ, रक्तचाप हृदयाघात वा स्ट्रोकजस्ता हृदय रोगहरूका लागि प्रमुख जोखिम कारक हो', डब्ल्युएचओले भनेको छ ।
सङ्गठनले युरोपमा रक्तचापको विस्तार विश्वमा सबैभन्दा बढी रहेको बताएको छ । सङ्गठनको प्रतिवेदनअनुसार यस क्षेत्रमा महिलाको तुलनामा पुरुषको मृत्यु हुने सम्भावना करिब अढाई गुणा बढी छ ।
हृदयाघातबाट मृत्यु हुनेमा भौगोलिक विभाजन पनि छ । पश्चिमी युरोपको तुलनामा पूर्वी युरोप तथा मध्य एसियामा हृदयाघातबाट युवा (३० देखि ६९ वर्ष समूह) मृत्यु हुने सम्भावना करिब पाँच गुणा बढी छ ।