Nic Ad Nic Ad
Nic Ad Nic Ad
टिप्पणी 

'गौशाला २६' देखाउँदै हुर्मत लिने कथित अधिकारवादीका नाममा...

आइतबार, जेठ ६, २०८१

एउटा भनाई छ– हनिट्रयापको कुनै सीमा हुँदैन, खाली एउटै लक्ष्य जितको मात्र हुन्छ। अहिले सडकभरी ‘म हुँ गौशाला २६’ भनेर एकथरी महिला अधिकारवादीको प्रदर्शन सुरु भएको छ। पक्कै पनि यो उद्दरणसहित आलेखको प्रारुप तयार पार्दैगर्दा महिला हित विरोधी भन्न सक्लान्। केही छैन। त्यो हुलमा ‘कथित महिला अधिकारवादी’ पनि छन्। 

‘आऊ न मलाई बलात्कार गर’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका साबित्राहरू कति सती साबित्रि होलान् यसको लेखाजोखा जान्ने सुन्नेले बुझेका होलान्। तर, देशका निम्ति खेल्नेले आंशिक न्याय पाउँदा मुटु जल्नेहरू गौशाला २६ भन्दा धेरै छन्। 

जबरजस्ती करणी अथवा बलात्कार भन्ने शव्दको अर्थसमेत नजान्नेहरूको घुइँचोले फेरि ‘कन्सेन्ट’को कुरा पनि गर्नेछन्। दिनभरी सँगै घुमेर नुवाकोटमा बसेर होटलको कोठासम्म पुग्ने ‘कन्सेन्ट’को व्याख्या हुनेछैन। 

जिल्ला अदालतका न्यायाधीश शिशिर ढकाल एनजिओ र केही मिडियासँग त्रसित थिए। किनभने एउटा बलात्कारसम्बन्धी मुद्दामा पीडक भनिएकालाई उनले निर्दोष बनाएको नजीर जिल्ला अदालतमा गौशाला २६ र सन्दीप लामिछानेको फैसला आउने अघिल्लो दिन र त्यहि दिन पनि समाचार प्रकाशित गरी एउटा ट्रायल भइसकेको थियो। 

ढकालले जोखिम लिएनन्। उच्चतिर ठेलिदिए। 

पहिला मुद्दाको सामान्य इतिहासमा जाऔं। एक बर्षअघि गौशाला २६ को उजुरी नाबालिगसँग यौन सम्बन्ध कायम राखेको भनी मुलुकी देवानी संहितामा उल्लेख भएको कानुनी दफाअनुसार मुद्दा गरियो। 

स्मरण होस्, नेपाल प्रहरीले पनि सबै कुरा जान्दाजान्दै यस्ता प्रकरणमा सहमति गराउने या तथ्य जाने पनि जोखिम नलिने भन्दै अदालतमा ठेलिदिने गरेको छ। किनभने, एकथरी कथित अधिकारकर्मी फेरि प्रहरीविरुद्ध सडकमा पेटिकोट मात्र लगाएर माइतिघरतिर जान्छन् भन्ने जोखिम छ। 

गौशाला २६ नाबालिग नभएको त जिल्ला अदालतमा प्रमाणित भयो। न्यायाधीशले आफ्नो विचारका आधारमा न्याय सम्पादन गरेका थिए, जिल्ला अदालतमा।

किनभने, गौशाला २६ सित सन्दीपको सम्बन्ध भएको मेडिकल प्रमाण के थियो? त्यो पनि खुलेको अवस्थामा छैन, थिएन। अर्को, कुमारीत्व भंगको विषय उठान हुन्छ। यसमा केही भन्नु छैन, महिलाको कुमारीत्व भंगका अनेक मेडिकल कारण हुन्छन्। बलात्कारको विषय भनेको डिएनए परिक्षण एउटा गहन पाटो हो, त्यसमा पनि गौशाला २६सित केही प्रमाण थियो त?

यद्यपि, न्याय सम्पादनको विषय उच्चमा एउटा भयो, गौशाला २६ का लागि सर्वोच्चको बाटो खुला छ। सडकमा तमासा देखाउने कथित अधिकारकर्मीले त्यसको हेक्का राखी सर्वोच्चतिर धाए हुन्छ।

अर्को कुरा, सन्दीप लामिछाने एउटा उम्दा खेलाडी भए पनि यो समाज र प्रकृतिभन्दा फरक फरक लोकको जन्तु होइन, थिएन। उसले सेलिब्रिटी हुनुको उपयोग गरेको कि गौशाला २६ ले उसको हनिट्रयाप गरेको भन्ने बहसमा आउन जरुरी छ कि छैन? के सन्दीप लामिछानेले गौशाला २६ लाई खोजेका थिए? कि, उनी खोज्दै डुल्दै घुम्दै होटलमा बस्नसम्म राजी भइन्? के सन्दीप लामिछानेले स्न्यापच्याटमा गौशाला २६ लाई रिक्वेस्ट पठाएका थिए? कि उनी खोज्दै पुगेकी थिइन्? 

उनीसँगैका साथी र सँगै हिँडेकाले पनि यो विषयमा प्रष्टोक्ति दिइसकेका छन्। न्याय र अन्यायको कसी भनेको आँसुविहिन छाती पिटीपिटी रोदनको नाटक गर्नु होइन। त्यो व्यक्तिको एक बर्षसम्म चरित्र हत्यामा निरन्तर लाग्नुचाहिँ हो, जहाँ आफूलाई गोप्य राख्ने कानुनको दूरुपयोग पनि मज्जाले हुन्छ भन्ने सल्लाह पाइयो। 

यी प्रश्नको उत्तर खोज्दा एकथरी महिला अधिकारकर्मीले टिप्पणीकारलाई पनि पितृसत्तात्मक विचारधारी पीडकको पक्षधर भनेर नामाकरण गर्ने जोखिम छ। तर, यहाँ अदालतको कुरा मात्र होइन, हरेक घटनाक्रमको अन्वेषण हुन आवश्यक छ।

म फेरि यहाँ त्यहि फिल्म सेक्सन ‘३७५’को एउटा कथालाई उदाहरणका रुपमा पेस गर्न चहान्छु।

बलिउड यो फिल्म हेर्नुभएको होला ? कतिपयले हेर्न भ्याउनु भएको छैन होला। यो फिल्म नेपाली सिनेमा घरमा नलागे पनि यसभित्रको कथाबस्तु निक्कै रोचक छन्। 

सत्य कथामा आधारित फिल्मको विषयबस्तु अहिले नेपालका क्रिकेटर सन्दीप लामिछाने प्रकरणसँग मिल्दो–जुल्दो छ। र, निचोड हो– न्यायाधीशले भिड हेरेर फैसला दिन सक्छन् ।

फिल्ममा रोहन खुराना नामका एक चल्तीका निर्देशक हुन्छन्। अनि, एक सामान्य फेसन डिजाइनर अञ्जली। एक चल्तीका वकिल हुन्छन् तरुण सुलाजा। जो रोहन खुरानाका वकिल हुन्छन्। अञ्जलीका तर्फबाट हुन्छिन् वकिल किरण गान्धी।

परिवार भएका निर्देशक रोहनलाई फेसन डिजाइनर रहेकी अञ्जलीले बलात्कार गरेको मुद्दा हाल्छिन्। 

नामी निर्देशकलाई प्रहरीले पक्राउ गर्छ अनि मुद्दा अदालतसम्म पुग्छ। भारतमा भइरहेका निर्भया बलात्कार प्रकरणलगायतको एउटा ठूलो हावाबीच यो प्रकरणले अदालतमा लामो बहस चलाउँछ। पीडित भनिएकी अञ्जलीको शरिरमा लागेका घाउ चोटदेखि प्रहरी अनुसन्धान, अस्पतालका रिपोर्टले बलात्कार नै भएको जस्तो देखाउँछ।

जुन हदसम्म सोध्नुपर्ने र सोधिनुपर्ने सबै प्रकारका पैरवी हुन्छन्। निक्कै अब्बल वकालत गरेका तरुणले हरेक क्रस प्रमाण र सोधपुछका आधारमा यो बलात्कार नभई ब्ल्याकमेलिङ अर्थात् हनिट्रयापको एउटा अंग रहेको प्रमाणित गर्छन्। 

जब फैसला दिने बेला आउँछ– न्यायाधीशको संयुक्त इजलासले केही समय पर्खिन्छ। फैसला सुनाउनुअघि अदालतबाहिरको ठूलो भिडको पंक्तिलाई हेर्छ। अनि, रोहनलाई बलात्कारी ठहर नगर्ने रिस्क लिँदैनन्। बरु, अर्को अदालतमा जाने बाटो खुला राखेर बलात्कारी ठहर गरिदिन्छन्। 

असलमा त्यो बलात्कार नभई अञ्जलीले रचेको रणनीति हुन्छ। किनभने बलात्कार भयो भनेर जसलाई आरोप लगाएकी हुन्छिन् उसैको घरमा बारम्बार उनी पुगेकी हुन्छिन्। यहाँसम्मकी अञ्जलीले ति निर्देशक रोहनलाई मायाजालमा पार्नका लागि निरन्तर सम्बन्ध कायम राखेकी हुन्छिन्। जब, रोहनले उनलाई ठूलो अवसर दिँदैनन्, स्थिति यहाँसम्म पुग्छ। 

यो कथाका हरेक घटना, संवाद र कथाका सबै पक्ष बुझ्नका लागि फिल्म सेक्सन ३७५ हेर्नु उपयुक्त हुनेछ। यो फिल्मको दोस्रो पार्ट आएको छैन। ति दोषी भनिएका निर्देशक उच्च अदालत जान बाँकी नै थियो। 

सन्दीपबारे तल्लो अदालत दबाबमा थियो भन्ने केही विषय माथि उठान गरेको छु। हो, यस्तै फिल्ममा पनि अदालतबाहिर यस्तै कथित अधिकारकर्मीको भिड हुने गरेको थियो।

गौशाला २६ साँच्चै नै प्रताडित र पीडित भए सर्वोच्च अदालतले उनलाई न्याय दिन कुनै कसर बाँकी राख्नेछैन, राख्नु हुँदैन। तर, गौशाला २६ का नाममा आफ्ना अभियान र अरुको हुर्मत लिने कथित अधिकारकर्मीहरूले दुष्कर्म नगरुन्। विश्वकप खेल्न हिँडेको सन्दीको मनोबल गिर्नेगरी ‘बलात्कारी’ भन्ने अधिकार तिमीहरुलाई कसले दियो? जबकि, अदालतले होइन भन्ने ठहर गरिसक्यो। 

कोही अन्यायमा नपरुन्, कसैको हुर्मत लिने काम नहोस्।   
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ११:५०
प्रतिक्रिया दिनुहोस्