इरानमा उपराष्ट्रपति मोहम्मद मोखबर कार्यवाहक राष्ट्रपति नियुक्त
काठमाडौँ- इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनपछि उपराष्ट्रपति मोहम्मद मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार सम्हाल्ने भएका छन । रायसीको निधनपछि देशको पहिलो उपराष्ट्रपति मोखबरले कार्यवाहक राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने सर्वोच्च नेता आयातोल्लाह खामेनीले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
इरानको संविधानले मोखबरको अन्तरिम नियुक्तिका लागि सर्वोच्च नेता आयातोल्लाह खामेनीलाई अधिकार सुम्पिएको छ । सर्वोच्च नेता खामेनी सबै राज्य मामिलामा अन्तिम निर्णायक हुन्।
इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ । इरानले राष्ट्रपति रायसीलगायतका दुर्घटनामा निधन भएका नेताहरूको सम्झनामा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । इरानको संविधानले राष्ट्रपतिको निधन भएको वा स्वास्थ्य अवस्था अथवा महाभियोगका कारण काम गर्न नसक्ने अवस्थामा सत्ताको नेतृत्व उपराष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ ।
आज बिहान इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो । हिजोदेखि सम्पर्कविहीन भएको इरानका राष्ट्रपति इब्राहिम सवार हेलिकप्टर पूरै जलेको अवस्थामा बिहान फेला परेको हो । हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपतिलगायत सबै जनाको निधन भएको इरानको समाचार संस्था तेहरान टाइम्सले जनाएको छ ।