Nic Ad Nic Ad
Nic Ad Nic Ad

चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई पाँच लाखमा बिक्री गरेको पाइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नुवाकोटको किस्पाङ घर भई हाल चीनमै बस्ने ४३ वर्षकी मनमाया घलेले रु पाँच लाख लिएर चिनियाँ नागरिकसँग नक्कली बिहे गराई पीडित महिलालाई चीन पुर्याएर वेश्यावृत्तिमा लगाएको भेटिएको हो ।

पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा चिनियाँ नागरिकसँग बिहे गरेपछि ग्रीनकार्ड बनाउन मिल्छ, त्यसपछि नेपाल आउनजान पाइन्छ अनि भविष्य सुनौलो हुन्छ भन्ने प्रलोभनमा पारी चिनियाँ नागरिकसँग अदालतमा लगेर विवाहसमेत गराएर बेचबिखन गरेको पाइएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

अनुसन्धानका क्रममा आरोपी घलेले आर्थिक अवस्था कमजोर भएकी महिलालाई यसरी बेचबिखन गर्ने गरेको पाइएको छ । आरोपी घले २०७९ चैत १३ गते अदालतमा चिनियाँ नागरिकसँग कोर्ट म्यारिज गराई पीडित महिलालाई २०८० वैशाख १ गते चीनमा पुर्याएर आफू नेपाल फर्किएकी थिइन् ।  त्यसपछि चिनियाँ नागरिकले जबर्जस्ती वेश्यावृत्तिमा लगाएको पीडितले बयान दिएकी ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्