Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्री लामिछाने–कान्तिपुर ‘वार’: प्रतिशोध साँध्न सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको दाबी  

मंगलबार, जेठ ८, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणलाई बहकाउनका निम्ति उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको दबाबमा धनुषा प्रहरीले कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको दाबी गरिएको छ।

यसको प्रतिवाद गर्दै सिरोहियाले एक वक्तब्यमार्फत कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने नियत राखिएको बताएका छन्। मंगलबार सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गराइएको छ। 

मंगलबार पक्राउ पुर्जी जारी भएपछि सिरोहियाले पनि वक्तव्य निकालेका थिए।  

सिरहोयिाले वक्तव्यमा भनेका छन्,‘निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ। म अहिले पनि म व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन।’

सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी रहेको सिरहोयिाको वक्तव्यमा उल्लेख छ। 

‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन’, सिरहोयिाको दाबी छ। 

यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने सिरोहियाको दाबी छ।

‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्नेमा व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?’, सिरोहियाले लामिछानेमाथि प्रश्न समेत उठाएका छन्।

यसैबीच, नेपाली कांग्रेसका सांसदले पक्राउ पुर्जी जारी भएकोमा नआत्तिन सिरोहियालाई भनेका छन्। नेपाली कांग्रेस प्रेस स्वतन्त्रता र कान्तिपुरको पक्षमा उभिने सांसदहरूले बताएका हुन्।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्