Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपको भिसाका लागि सरकारले नै अमेरिकासँग पहल गर्नुपर्छ : क्यान अध्यक्ष चन्द

बुधबार, जेठ ९, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको भिसा अमेरिकाले अस्वीकार गरेको विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले सरकारका जिम्मेवार व्यक्तिहरूलाई जानकारी गराएको छ ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री र खेलकुद मन्त्रीलाई आफूहरूले सूचना दिइसकेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए ।अमेरिकी दूतावासले आज सन्दीपलाई अन्तर्वार्तामा बोलाएर भिसा दिन अस्वीकार गरेको थियो । दूतावासको निर्णयबाट क्यान पदाधिकारीहरू आश्चर्यमा परेका छन् । कैयौँ देशमा लिग खेलिसकेको र अमेरिकामा पनि खेलेर फर्किएको अन्तर्राष्ट्रिय खेलाडीलाई भिसा नदिइनुलाई उनीहरूले स्वाभाविक रूपमा लिएका छैनन् ।

क्यान अध्यक्ष चन्दले के कारणले भिसा नदिइएको हो भन्ने जानकारी नरहेको बताए । अब यस विषयमा सरकारीस्तरबाटै पहल हुनुपर्ने उनको भनाइ छ ।

‘हामीले सरकारका सबै जिम्मेवार व्यक्तिहरूमा कुरा पुर्‍याएका छौँ । उहाँहरूले आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ’, चन्दले भने ।

सरकारले पहल नगर्दासम्म क्यानले केही गर्न नसक्ने चन्द बताउँछन् । ‘हामीले गर्ने भनेको आवश्यक डकुमेन्ट उपलब्ध गराउने हो । त्यो गराइसकेका छौँ । अब परराष्ट्र मन्त्रालयमार्फत बलियो पहल आवश्यक छ’, उनले भने ।

नेपाली क्रिकेट समर्थकहरूको भावनालाई समेत मध्यनजर राखेर दूतावासले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा उनले व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  २०:३७
प्रतिक्रिया दिनुहोस्