Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइसीसी टी-२० विश्वकप : एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि

शुक्रबार, जेठ ११, २०८१

काठमाडौँ - आइसीसी टी-२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो ।

बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिकाले ६ रनको जित निकालेको हो ।बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले टस जितेर अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएका थिए । टस हारेर ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । तर लक्ष्यको जवाफमा बंगलादेश १३८ रनमा अलआउट भई ६ रनले पराजित भयो । सिरिजको पहिलो खेल पनि ५ विकेटले जितेको अमेरिकाले लगातार दुई खेल जितेर सिरिज कब्जा गरेको छ ।

पहिले ब्याटिङमा आएको आयोजक टोलीलाई ओपनरले राम्रो सुरुवात गराए । स्टिभन टेलर र कप्तान मोनांक पटेलले पहिलो विकेटका लागि ४४ रन जोडे । टेलरले ३१ रनको महत्त्वपूर्ण इनिङ खेले भने मोनांक पटेलले ४२ रनको महत्त्वपूर्ण योगदान दिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका एन्ड्रिज गौस शून्य रनमा पभेलियन फर्किए भने अन्तिम खेलका नायक कोरी एन्डरसन ११ बनाउँदा हरमित सिंह भने खाता नखोली आउट भए । अमेरिकी टोलीलाई १४४ रनमा पुर्‍याउन आरोन जोन्सले ३ चौका र १ छक्का प्रहार गर्दै ३५ रनको इनिङ खेले । 

बंगलादेशका लागि शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान र रिशाद हुसेनले समान २-२ विकेट लिए ।१४५ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशको सुरुवात निकै खराब रह्यो । 

ओपनर सौम्या सरकार पहिलो बलमै आउट भए भने तान्जिद हसन १९ रन बनाएर पभेलियन फर्किए । इनिङ्सको मध्यमा कप्तान शान्तोले ३६, तौहिद हरिदोयले २५ र शकिब अल हसनले ३० रन बनाए पनि त्यसपछि लगातार विकेट पतन हुँदा पुरै टोली १३८ रनमा समेटिएको भयो । 

अमेरिकाका लागि अलि खानले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रवलकर र शाडले भानले २-२ विकेट लिए । जसदीप सिंह र कोरी एन्डरसनले पनि १-१ सफलता हात पारे । 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्