सिद्धबाबा सुरुङ निर्माण गर्न १३ जेठदेखि विस्फोट गराइँदै
काठमाडौँ - सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न १३ जेठदेखि विस्फोट गराउने काम सुरु गरिने भएको छ ।
आयोजनाका अनुसार २ जेठमा जिल्ला सुरक्षा समिति रुपन्देही र १० जेठको सुरक्षा समिति पाल्पाको निर्णय अनुसार १३ जेठदेखि विस्फोटको काम सुरु गर्ने निर्णय भएको हो ।
यो सुरुङमार्ग चाइना स्टेट इन्जिनियरिङले बनाइरहेको छ । नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा आवश्यकता अनुसार विस्फोट गराइने र विस्फोटका समयमा सीमित अवधिका लागि सवारी आवागमन रोकिने आयोजनाले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा सुरुङ बन्दैछ । विस्फोटको पूर्वाभ्यास शुक्रबार गरिएको छ ।
शुक्रबार निर्माण स्थलमा नेपाली सेना र नेपाल प्रहरीको उपस्थितिमा विस्फोटको पूर्वाभ्यासको काम गरिएको सिद्धबाबा टनेल प्रोजेक्ट अफिसले जानकारी गराएको छ ।
आयोजनाले पछिल्लो समय सार्वजनिक गरेको अपडेट अनुसार सुरुङ मार्गको भौतिक प्रगति ११।४१ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत भएको छ ।
मुख्य टनेलको ८५.७ मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यहाँ कुल १ हजार १२६ मिटर लामो सुरुङ बन्नेछ ।