कसरी फसाउने आँटमा पुगे आचार्य? आत्महत्याको सोचबाट फर्किएका डीएसपीको तर्फबाट...
भनिन्छ, जताततै अन्याय न्यायका लागि खतरनाक हुन्छ । न्यायका चित्कारलाई मिहिन र गहिरोगरी नबुझ्ने हो भने एउटा निर्दोष मानिसले रगत आँसु पिउनुपर्ने स्थिति हुन्छ ।
अझ, आफूले कर्तव्यलाई शिरमा राखी फौजी संगठनमा रहेर काम गरिन्छ भने यति मात्र होइन मनोबल यतिसम्म गिर्ने स्थिति आउने रहेछ कि, लोकका सामु कसरी बाँच्ने ? कसरी संघर्ष गर्ने भन्ने अनेक प्रकारका तर्कना आउँदछन् ।
जहो जहाँ भए पनि अन्यायको दुश्चक्रको शिकारमा किन पारिन्छ ? आखिर के पाउँछन् न्यायको ठेक्का लिने तर अन्यायको चक्रब्युहमा छिराउने ति मनुवाहरूले ?
सुन तस्करी प्रकरण, यसको छानबिन र जाँचबुझका लागि गठित आयोग, यसको प्रतिवेदन, यसका पदाधिकारीको मनोगत कार्यशैली कति सुन्न योग्य छन् कति भन्न लायक छन् र कति आलोचनात्मक छन् ? यी तथ्यको कसीमा नै हुन्छन् ।
यहि आयोगले नियतवस भनौं या नियोजित हिसाबले डामेका एक प्रहरी नायव उपरिक्षक (डीएसपी) रुगम कुँवरले कसरी झेलेका थिए, के ठाने कसरी घटनाक्रमको विकास भयो र कुन परिस्थितिसम्म पुग्यो न्यायको खोजी त्यसको इतिवृतिबारे टिप्पणीकार जबरजस्त प्रश्न उठाउन चहान्छ ।
यसको प्रस्थानविन्दु २०८० माघ २४ गते हो । दिउँसोे सिंहदरबारस्थित सुन तस्करी पैठारी नियन्त्रण जाँचबुझ आयोगको कार्यालयबाट प्रहरी नायव उपरिक्षक (डीएसपी) रुगम कुँवरलाई फोन आँउछ । ‘म अधिबक्ता बोलेको तपाई भोली १० बजे आयोगको कार्यालयमा आउनु होला ।’
रुगम कुँवरले तत्काल प्रतिवाद गर्छन्, ‘म सुन अनुसन्धानमा खटिएको मान्छे पनि हैन । म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख पनि हैन मलाई किन बोलाउनु भएको?’
सरकारी वकिलले त्यसबारेमा आफूुलाई जानकारी नभएको बताउँदै आयोजक संयोजक डिल्लीराज आचार्यको आदेशमा मैले खबर गरेको भन्छन् र आउनुहोला भन्दै उनले फोन राख्छन् ।
रुगम कुँवरले आयोगका सदस्य प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) सहकुबहादुर थापालाई तत्काल फोन गर्छन्, ‘मलाई हजुरले बोलाउन लगाउनु भएको हो ? किन बोलाउनु भएको’ भन्दा तिम्रो जीवन चलाउनेसँग फोनसम्पर्क भएकोले बोलाएको हो । आउनपर्छ भन्ने जवाफ दिन्छन् ।
सहकुलबहादुर थापा प्रहरीमा हुँदा उनको सबैभन्दा नजिक बसेर काम गरेका अफिसर मध्य रुगम कुँवर पहिलो नम्बरमा थिए । युएन शान्ति मिशन जाँदा होस्, चितवन, अपराध महाशाखा, सीआईबी प्रमुख हुँदा उनको प्रत्यक्ष मातहत तथा नजिक भएर काम गरेका नाताले सहकुल थापाप्रति कुँवरको अधिक विश्वास थियो ।
विश्वास पनि किन नहुनु र! कुँवरले नै थापाको कार्यकाल सफल बनाउने एउटा होनाहार अफिसरको भूमिका निर्वाह गरेका थिए । असलमा भन्दा अपराध अनुसन्धानमा अब्बल अफिसरका रुपमा कुवँरलाई यस टिप्पणीकारले पनि बुझेको छ, सुरक्षा अपराध समाचार, विश्लेषण र घटनाक्रमको विषयमा बुझ्दा । यो भावनात्मक नभई कार्यप्रगतितात्मक विश्लेषण नै हो, कि उनी एउटा असल आदेश पालनकर्ता अफिसर हुन् ।
२०८० माघ २५ गते कुँवर आयोगको कार्यालय सिंहदरवारमा पुग्छन् । पूर्वसभामुख कृष्णबहादुर महराको बयान भैरहेका कारण उनलाई केहीबेर पर्खिन खबर आँउछ ।
महराको बयान सक्केपश्चात सहकुलबहादुर थापा उनी पर्खिरहेको कोठामा पुग्छन् । ‘मेरो आज एनिभर्सरी भएकाले म घर जाँदै छु । तिम्रो सोधपुछमा बस्न म भ्याउँदिन । गगन अर्याल भन्ने पत्रकारले डिल्ली आचार्यलाई कुरा लगाएको छ । डिल्ली आचार्यको ब्यक्तिगत इगोमा तिमीलाई बोलाएको हो ।
मलाई सबै कुरा तिम्रो बारेमा थाह छ । तिमीले गल्ति गर्दैनौ राम्रोसँग कुरा गर्नु’ भन्दै सहकुलबहादुर थापा बाहिरिन्छन् ।
केहिबेरमा डीएसपी कुँवरलाई सोधपुछ कक्षमा आउन भन्ने खबर आउँछ । आफूु बसेको कोठाबाट जाँदै गर्दा पत्रकार गगन अर्यालसँग सोधपुछ कक्षको बाहिर अकस्मात भेट हुन्छ ।
कुँवरले पत्रकार गगनसँग हात मिलाउँछन् । गगनले तान्न खोजेको थिए हतार छ भन्दै उनी डिल्लीराज आचार्यको कोठामा निस्कन्छन् । पत्रकार गगनले कुरा लगाएको भन्नु र डिल्लीराज आचार्यको कोठाबाट गगन निस्किनु कुनै संयोग थिएन ।
यो योजनाबद्ध थियो र रुगम कुँवरलाई फसाउन आयोगका अध्यक्ष डिल्लीराज आचार्य शुरुदेखि नै लागेका रहेछन् भन्ने कुराको ठूलो प्रमाण थियो ।
डीएसपी कुँवरको मनमा चीसो नपस्ने कुरा भएन ।
आयोगले उनीसँग ३० मिनेट जति सोधपुछ गरी लिखितम् पनि भयो । सोधिएका प्रश्नहरू प्रसङ्गभन्दा बाहिरका भएका कारण उनले सामान्य जवाफ दिए । आफूु सुन अनुसन्धानमा पनि नखटिएको र सीआईबी प्रमुख पनि नभएकोले थाह नभएको भनी उत्तर दिए ।
‘जीवन चलाउने सीआईबीमा आएको थियो भन्ने सवालमा बिदाको दिन बोलाएको भन्नेकुरा मिडियाबाट सुनेको हो । विदाको दिन आफूु कार्यालय जानेकुरा भएन । मैले आफ्नो आँखाले देखेको छैन । त्यो बारेमा थाह भएन’ भन्ने जवाफ दिए ।
‘तपाईको ५७ पटक सम्पर्क भएको रहेछ कहिलेदेखि चिन्नु भएको थियो’ भन्ने सवालमा २० वर्षदेखि चिनजान छ भन्ने उत्तर दिए । कुँवरले आयोगमा भनेका थिए,‘मेरो र जीवनको घर एउटै जिल्लामा भएको नाताले कहिलेकाहीँ कुराकानी हुन्थ्यो ।’
दाल, चामल र तेलको ब्यापार गर्छ । जीवन चलाउने अमेरिका गईसके भन्ने विषय समेत जानकारी गराए ।
जीवनले सुनको तस्करी गर्ने कुराको आफूुलाई कुनै जानकारी नभएको भन्दै जवाफ दिए । डिल्लीराज आचार्यले ‘डीएसपी साव यहाँलाई धरै कुराको ज्ञान रहेछ । नबोलाउ भन्ने लागेको थियो तर बोलाएर राम्रो भयो । अध्ययनशील हुनुहुँदो रहेछ’ भन्दै आफैंले लेखेको दुईवटा किताव समेत दिए ।
जे–जति सोधे सबैकुरा डिल्लीराज आचार्यले मात्र सोधे । अन्य दुई जना सदस्य प्रेमराज जोशी र किशोरजंग कार्कीले कुनै पनि कुरा सोधेनन् । आफ्नो तारिफ पनि गरेर किताब समेत पाएकोमा डीएसपी फुरुङ्ग हुँदै आयोगबाट बिदा भए ।
आयोगको कार्यालयबाट निस्केको केही समयमै “सुन जाँचबुझ आयोगले लियो सीआईबीका डीएसपी कुँवरको बयान” भन्दै गगन अर्याल काम गर्ने लोकान्तर अनलाईनमा समाचार आयो । समाचारमा आएको विषयमा उनले खासै ध्यान दिएनन् ।
‘आयोगमा गएर कागज गरेर फर्केकै हो’ पत्रकारको काम लेख्नेनै हो भन्दै उनले सामान्य तरिकाले लिए ।
आयोगमा बयान सकेर कार्यालय फर्किए । कार्यालयको ड्युटी सकेर घर पुगे । साँझ अचानक पत्रकारहरूको फोन आउन थाल्यो । फेसबुक म्यासेन्जरमा समाचारका स्क्रिनशटहरू आउन थाले । जुन–जुन मिडिया र म्यासेन्जरमा न्यूज आए सबै एउटै ब्यक्तिबाट लेखिएका थिए । अंक अक्षर कुनैमा फरक थिएन ।
उनले आयोगका अध्यक्ष डिल्लीराज आचार्यलाई सम्पर्क गरे, ‘सर! के भएको हो मेरा बारेमा यसरी गलत समाचारहरू कसरी आए ।’
डिल्ली आचार्यले जवाफमा ‘हामीले तपाईलाई एक्सपर्टको रुपमा बोलाएका थियौं । मैले सबै पत्रकारलाई यहि भनेको छु । तपाईले पनि त्यही उत्तर दिनु’ भन्ने जबाफ पाए ।
डीएसपी कुँवरले डिल्लीराजप्रति पूर्ण विश्वास गरे । आचार्यले पछाडीबाट छुरा रोप्दैछन् भन्ने उनलाई हेक्का नै भएन ।
२०८० माघ २५ र २६ गते चारवटा अनलाईनले रुगम कुँवरले जीवन चलाउनेलाई भगाए भनेर समाचार प्रकाशित गरे । व्यावसायीक साझेदार समेत लेख्न भ्याए । गर्दै नगरेको कसुरमा आफूुलाई अनाहकमा मुछेको भन्दै उनले प्रेस–काउन्सिलमा उजुरी हाले ।
तीनवटा अनलाईनले खण्डन छापे । एउटाले अनलाइनले छापेन । यसै शिलशिलामा डीएसपी कुँवरले आफूुमाथि षडयन्त्र गर्ने मानिसका बारेमा पत्ता लगाए ।
कृष्णबहादुर महरा जोडिएको भेप केशमा भेप चोरी गरी बेच्ने भन्सारका सुब्बा रेबन्त खड्कालाई सीआईबीले मुद्दा चलाएको थियो । रेबन्तलाई सीआईबीबाट छुटाइदिन्छु भनि निजका बुवा अमरबहादुर खड्काबाट एक करोड १५ लाख घुस लिने एकजना पत्रकार र निजका साथी गगन अर्यालले कुँवरका विरुद्ध समाचार लेख्न लगाएका रहेछन् भन्ने लगभग निधो भयो ।
समय बित्दै गयो । डिल्लीराज आचार्यले दैनिकजसो ह्वाट्सपमा डीएसपीलाई फोन गर्न थाले ।
‘कहिले जीवन चलाउने भारतमा छ आयोगमा हाजिर हुन भन्नुस् । कहिले दिल्लीमा छ सरेण्डर गर्न भन्नुस् । आयोगमा कागज गरेर अदालतमा पठाईदिन्छौं सहयोग गर्छौं’ भन्दै बार्गेनिङ्ग गर्न थाले ।
कुँवरले कन्भिन्स गर्न थाले जीवन भारतमा छैन । अमेरिका गैसक्यो भनेर मैले भनीसके तपाईलाई कसले भन्यो भारतमा छ भन्दा सहकुलबहादुर थापासँग कुरा भैरहेको छ भन्ने जवाफ दिए ।
सहकुलबहादुर थापासँग जीवको पुरानो चिनजान थियो । धिरजप्रताप सिंह प्रहरी महानिरिक्षक आईजी हुने समयमा सहकुलबहादुर थापालाई आईजी बनाउनुपर्छ भन्दै धेरै नेताहरूकोमा लगेर जाने मध्येको जीवन चलाउने थियो । पुरानो कल डिटेल्स हेर्दा जानकारी हुने विषय हो । दिल्लीमा हुँदा भिडिओहरू खिचेर मोवाइलमा सेभ गरेर राखेका भिडिओहरू डिल्लीराज आचार्य र सहकुलबहादुर थापालाई पठाएर आफूु भारतमै रहेको कुरा भन्ने रहेछ ।
डीएसपीले भ्रममा नपर्नु मान्छे अमेरिका छ भन्दासमेत आयोगले प्रतिवेदन बुझाई सक्दा आचार्यले लाजै नमानी केही पत्रकारलाई बोलाएर जीवन काठमाडौं आएको र प्रहरीले भगाएको भन्न समेत भ्याएका थिए ।
अनलाइन खबरले त समाचार पनि प्रकाशित गरेको थियो । झुटको खेतिपनि कतिसम्म गर्न सकेका डिल्लीराजहरूले ?
मिति २०८० चैत १ गते आयोगले उप–प्रधान तथा गृहमन्त्री रबि लामिछानेलाई प्रतिवेदन बुझायो । सोहि २ गते प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै उत्साहित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।
आफूलाई समेत आयोगले डामेको कुरा डीएसपी कुँवरले जानकारी पाए । बिभिन्न मिडियामा बडेमानका अक्षर सहित फोटोहरू प्रकाशित समाचारले डीएसपीले सबैकुरा क्षणभरमै समाप्त भएको अनुभूति गरे ।
२० बर्ष जागिरको क्रममा एउटा पनि स्पष्टिकरण नखाएका कुँवरका निम्ति यो परिदृष्य जीवनमरणको सवाल नहुने कुरा भएन । कार्वाहीको नाममा सीआईबी प्रमुखलगायत, एकजना एसपी र दुईजना डीएसपीलाई प्रहरी प्रधान कार्यालय तान्ने काम भयो ।
चैत ४ गते सीआईबीबाट रमानापत्र बुझे । ५ गते प्रदेश समन्वय बिभागमा हाजिर भए । कसैलाई भेट्दा समेत सुन तस्कर भन्छन् होला भन्ने अनगिन्ति सवालहरू मनमा नखेल्ने कुरा थिएन । किनभने नयाँ गृहमन्त्री त्यहाँमाथि सुन केशको फाइल नै कार्यान्वयनमा ल्याइहालेको भन्नासाथ बाहिरी हल्ला र भित्री कथा अलग थिए भन्ने लोकलाई के थाहा ?
अनाहकमा आफूुलाई षडयन्त्र पुर्वक फसाएको कुरा उनलाई थाहा नै भएन । कुरा भएकै आधारमा मुछेका होलान् भन्ने लागि रह्यो ।
कतिपय समयमा टिप्पणीकर्ताले सोधपुछ गर्दा उनले आत्महत्या गर्ने सोच बनाएकोसम्मको जानकारी पायो ।
‘आफूले कुनै गल्ति नगरेको म माथि अनुसन्धान राज्यले राम्रोसँग गरोस् । डिल्लीराज आचार्यलगायत सबैलाई आजिवन जेल हालियोस् भन्दै फेसबुक ड्राफ्टमा स्टाटस् लेखे । राति ११ बजे एक्कासी घरबाट निस्किन थाल्दा श्रीमतीले थाहा पाईन् ।’
घरमा दुईजना छोरा र श्रीमतिको रुवावासी भएको र सबैले सम्झाउँदा आत्महत्या गर्ने निर्णय बदले ।
यसैक्रममा चैत ११ गते तत्कालिन सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले प्रतिवेदन हेर्न दिनु पर्यो भन्दै आईजी बसन्तबहादुर कुँवरसँग अनुरोध गरिन् ।
आफूुलाई लगाएको आरोप पढ्न पाउने तर लेख्न र फोटो समेत खिच्न नपाउने भन्दै एकजना एसपीलाई ड्युटी राखेर पढ्ने ब्यवस्था मिलाए । डीएसपी रुगम कुँवरले आफूुलाई आयोगले लगाएको आरोप हेर्दा त उनले जीवनमा कसैलाई नपठाएको कृत्रिम मेसेजलाई आधार बनाउँदै (मिति २०७९ पुष १६ गते देखि २०८० भदौ २५) सम्म २४१० पटक जीवन चलाउनेसँग नियमित सम्पर्क गरेको भनी कार्वाहीको सिफारिस गरेको जानकारी पाए ।
सोहिदिन साँझ कार्यालयबाट घर जाँदैगर्दा उनले आयोगका सदस्य सहकुलबहादुर थापालाई फोन गरे, ‘प्रतिवेदनमा उल्लेख गरिएको म्यासेज मेरो होइन त्यसको जष्टिफाई कसरी गर्नु हुन्छ ? तपाईहरूले भन्नु भएको मितिमा २४१० पटक कुरा गरेको भनि लेख्नु भएको छ । यदि २४१० पटक मेरो कुरा भएको छ र त्यो मेसेज मेरो हो भन्ने प्रमाणित गर्नु भयो भने आफूुलाई सुन मुद्दा चलाउन र टुडिखेलमा लगेर गोलि हान्न चुनौति दिन्छु ।’
डिसएपीको कुँवरको कुरा सुनेपछि सहकुलले डिल्ली आचार्यसँग कुरा गर्न सुझाए ।
‘म आचार्यसँग कुरा गर्दिन, मैले फोन गर्दा धम्की दियो भन्लान् आफूै कुरा गर्नुस्’ भनेपछि, हुन्छ भाई मसँग कल डिटेल्स छ म हेरेर खबर गर्छु भन्दै फोन राखे ।
चैत ११ गते साँझ म खबर गर्छु भन्ने सहकुलबहादुर थापाले कहिले पनि उत्तर दिएनन् कुँवरको फोन उठाउने हिम्मत गरे । न उनले पठाएका सयौं मेसेजहरूको रिप्लाई गरे ।
डिल्लीराज आचार्यले आफूुलाई नियोजित रुपमा फसाएको थाह भएपछि डीएसपी रुगम कुँवर २०८० चैत २० गते नेपाल दूरसञ्चार संस्थान सुन्धारा टेलिकमको कार्यालयमा गएर आफ्नो कल डिटेल्स पाउनको लागि निवेदन दिए ।
नियमपूर्वक हरेक महिनाको कल डिटेल्स प्राप्तीको लागि तोकिएको शुल्क नेपाली रुपैयाँ १०१७ तिरे । आयोगले प्रतिवेदनमा उल्लेख भएको समय (मिति २०७९ पुष १६ गते देखि २०८० भदौ २५) गते सम्मको डिटेल्स प्राप्त गरे ।
कल डिटेल्स विश्लेषण गरेर हेर्दा जीवन चलाउनेको नम्बरमा आयोगले भनेको अवधि साढे आठ महिना (२५५) दिनमा जम्मा ५७ कल मात्र देखियो ।
औसतमा प्रतिमहिना ६ पटक हाराहारी कुराकानी भएको रहेछ । डिल्लीराज आचार्यको आयोगले प्रतिवेदनमा रुगम कुँवरको २४१० पटक सम्पर्क छ भनि उल्लेख गरेको छ । २४१० कल मध्ये २३५३ वटा नक्कली कल आयोगले किन उनको टाउकोमा थोपरेको थियो? यहि प्रश्न टिप्पणीकारले यसअघिका समाचारमा समेत मिथ्यांकका रुपमा प्रमाणित गरिसकेको थियो। तर, गृह मन्त्रालयले ध्यान दिएको छैन अथवा उक्त मन्त्रालय कसैलाई षडयन्त्रपूर्वक फसाउने खेलमा जकडिएको छ ।
आयोगले बयानको लागि बोलाउदा ८ महिना १५ दिनमा ५७ पटक कुरा भएको छ । जीवन चलाउनेलाईकहिले देखि चिन्नु भएको थियो ? भन्ने प्रश्न लिखितरुपमै सोधेको छ ।
डिल्लीराज आचार्यले कसको दबाव र प्रभावमा परेर नक्कली प्रतिवेदन तयार गरे ? नमर्दासम्म यसको उत्तर खोजिरहने र जीन्दगीकै भीष्म प्रतिज्ञाको रुपमा लिएको कुँवरले बताए ।
कुँवरले जिन्दगीभर कसैलाई नपठाएको मेसेज उनको हो भनी आयोगले कसरी प्रमाणित गर्यो ? त्यो मेसेज कहाँबाट आयो ?
‘डीएसपी कुँवरले मात्र हैन सम्पूर्ण नेपाली जनताले यसको उत्तर खोजिरहेका छन् । सक्नु हुन्छ आचार्यजी ? तपाई सक्दै सक्नु हुन्न’ यो एउटा अहम् प्रश्न छ।
किनकी उनले पठाएको भए पो सक्नु हुन्छ । फरेन्सिक जाँच समेत गरियोस् । गृहमन्त्री रवि लामिछानेले कुनै बेला पत्रकार सम्मेलनका क्रममा मिडियामाथि आक्रोश पोख्ने क्रममा भनेका थिए नि, त्यहि फ्रेजको सापटी लिँदै प्रश्न गरिन्छ,‘नोथिङ इज डिलिटेड इन द डिजिटल वर्ल्ड ।
कुनै मानिसले रुगम कुँवरको मेसेज भनेर दिएको कुरा उसले नै लेख्यो होला भनेर कसरी प्रमाणित हुन्छ ? उच्च अदालतको न्यायाधीश भएको मानिसलाई तथ्य के हो भन्ने कुरा जानकारी हुनुपर्ने हो कि हैन ? न्यायालयबाट रिटायर्ड भएको यति छिट्टै तथ्यको जाँच गर्नु पर्छ भन्नेकुरा बिर्सिन मिल्छ ?
कुँवरले गृहमन्त्री लामिछानेकहाँ निवेदन दिएको खबर पनि बाहिर आयो । त्यसबारेको समाचार टिप्पणीकर्ताले पनि लेखेको थियो ।
निवेदनको सुनुवाई कुनै दिन हुने नै छ । आयोगको कथित सूचनाको श्रोत र डिल्लीराज आचार्यको मोबाईल डिएफएलसमेत गरियोस् भनी अनुरोध गरेका छन् ।
कतिपय प्रश्न अझै अमूर्त छन् । आफ्नो साथीलाई सीआईबीले मुद्दा चलाएको बदला लिन कृत्रिम मेसेज तयार गरी दिने सूचनास्रोत गगन अर्याल र तिनले दिएको च्याट सम्वाद कता छ ? रोमनाइज पनिराम्रो सँग लेख्न नआउने कुन उपग्रहबाट आएको सूचनास्रोत थियो ? आज कुँवर जस्ता कति मानिसहरू सराप्दै बसेका होलान् ? यो एक चुनौतिका रुपमा टिप्पणीकारले खडा गरेको प्रश्न हो ।
सीआईबीमा पटक–पटक बसेको समेत भनिएको रहेछ । पहिलो पटकको पोष्टिङ्गमा नियमित सरुवा भएर आएका थिए । उनले मागेर आएका थिएनन् । दोस्रो पटक समितिमा सदस्य रहेका सहकुल बहादुर थापालाई सोधे हुन्छ । कुँवरलाई किन सिफारिस गरेर सीआईबीमा ल्याएका थिए भनेर। तेस्रो पटक फेरि किन सीआईबी सरुवा गरे, पूर्वआईजी धिरजप्रताप सिंहलाई सोध्दा हुन्छ।
उनी जति पटक सीआईबीमा कार्यरत रहे । राजीखुशी र मागेर आएको पोष्टिङ्ग कदापि थिएन । तैपनि जति समय बसे ईमान्दारपूर्वक तोकिएको जिम्मेवारी पुरा गरेर बसेका थिए भन्ने कुरा उनले सम्पादन गरेका कार्यबाट प्रमाणित हुन्छ । यो सुरक्षा अपराधको बिटमा कलम चलाइरहेको अनुभवले स्पष्ट भन्छ ।
मुद्दालाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावित तुल्याउन अहं भूमीका खेल्यो समेत आरोप रहेछ ।
सर्वप्रथम यति बुझ्न आवश्यक छ कि उनी सुन अनुसन्धानमा खटिईएका अधिकारी थिएनन् । जुन कुरा प्रतिवेदनमा समेत स्वीकार गरिएको छ । जीवन चलाउनेको पक्राउ पूर्जी भदौ २७ गते मिशिल सरकारी वकिल कार्यालयमा बुझाउने दिनमा लिईएको छ । पक्राउ पूर्जी लिन किन ढिला भयो ? यो प्रश्न कुँवरलाई सोध्ने हैन । सुन अनुसन्धानमा खटिएका ४२ जनासँग सोध्नु पर्ने थियो । सोधियो ? कार्यालय प्रमुखलाई सोधियो?
एआईजी कार्यालय प्रमुख हुने र आईजीको प्रत्यक्ष मातहत हुने कार्यालयमा अनुसन्धान बाहिर बसेको डीएसपीले मुद्दालाई प्रभावित तुल्याएको भन्ने कमाण्ड कन्ट्रोलको ‘क’ सम्म पनि नबुझ्नेलाई कसरी सम्झाउन सकिन्छ ? जीवन चलाउनेलाई उनले कतै घर खोजेर लुकाएर राखेका थिए ? बस, प्लेनको टिकट काटेर कतै पठाएका थिए ? उनले भाग भनेर लेखेको कतै मेसेज, र रेकर्ड छ ? जागीर, करिअर, ईज्जत दाउमा राखेर कसैलाई आर्थिक प्रलोभनमा पारेको प्रमाण छ ?
आचार्यसित यसको पनि कतै प्रमाण छ कि ? छ भने पनि त्यसको परिक्षण गरिनुपर्छ । किनभने आधार त हावादारी नै राखिने रहेछ नि, हैन र ?
जीवन चलाउने सुनको काम गर्दो रहेछ भनेर रुगम कुँवरलाई शुरुदेखि अवगत भएर माथिल्लो अधिकारीलाई जानकारी नदिएको भनेर पनि प्रतिवेदनमा उल्लेख रहेछ । त्यसको प्रमाण त्यो कृतिम मेसेज, कृतिम कल डिटेल्स र उनका बिरुद्धमा कसैले भ्रमपूर्ण कुरा बोलेको बाहेक के छ ?
तपाँई नेतृत्वको आयोग त सर्वाधिकार सम्पन्न आयोग थियो हैन र ? सशंकितलाई सोधपुछ गर्ने, प्रमाण संकलन गर्ने, बयान लिने, थप छानविन गरि कानून बमोजिम कार्वाहीको सिफारिस गर्नेसम्मको अधिकार थियो हैन र ? यदि जीवन चलाउनेले सुनको काम गर्थ्यो भन्ने शुरुदेखि थाहा हुने रुगम कुँवरलाई थप बुझ्न किन जरुरी ठानिएन ? कृत्रिम मेसेजको बारेमा भेरिफाइ गर्ने आँट किन भएन ? प्रश्नहरु अहम् छन् र यो टिप्पणीकारको चुनौति नै भयो ।
रुगम कुँवरप्रति माया भएर बिभागीय कार्वाहीको मात्र सिफारिस गरिएको हो ? प्रहरीलाई फसाउने र सीआईबी जस्तो यूनिटलाई बदनाम गराउने ध्येय बाहेक थप केहि सोचिएको थियो ? जीवन चलाउनेसँगको उनको सम्बन्ध केवल साथीभाइ र एउटै जिल्लाको मात्र थियो भन्ने त पटक पटक भनेकै थिए ।
२० बर्षदेखिको सबैकुरा किन हेरिएन? कसैसँग मित्रता हुँदैमा उसले गरेका गैह्रकानूनी क्रियाकलापमा अरु पनि संलग्न हुन सक्छन् भनि अनुमान गर्नु कतिसम्म जायज हो ?
आजका दिनसम्म रुगम कुँवरले जीवन चलाउनेसँग अनैतिक र गैह्रकानूनी सम्बन्ध राखेको कुरा स्थापित गर्न समेत चुनौति छ ।
कानूनको दायरामा जुनसुकै मान्छे आउनु पर्छ । कानूनभन्दा ठूलो कोही हुन सक्दैन । कुरा गरेकै आधारमा उनी दोषी हुन पर्ने हो भने उनी भन्दा धेरै कुरा गर्ने प्रहरीलाई किन आयोगमा बयान लिइएन ? किन उनीहरूमाथि एउटा प्रश्न समेत गरिएन ? उनले त २० बर्षदेखि चिनजान भएर कुरा गरेको भनेका छन् । अरु प्रहरीहरूले के कुरा गर्थे ? किन कुरा गर्थे ? उनीहरूको बीचमा के सम्बन्ध थियो ? किन सोधिएन ? कसको दबाब र प्रभावमा परियो ?
अरु प्रहरीसँगको चलाउनेको सम्बन्ध के हो ? कानूनको नजरमा सबै समान हुन्छन् भन्ने विषय श्रीमान् जस्तो बिद्वानलाई संझाई रहनु पर्ने कुरा हो ?
२०६० साल पुस २१ गते प्रहरी सेवामा प्रवेश गरेका थिए उनी । उनको ट्रयाक रेकर्ड हेरियोस् । आजका दिनसम्म प्रहरी संगठनबाट एउटा स्पष्टिकरण समेत खाएका छैनन् । २५ वटा अभिलेखमा जानिने गरी पुरस्कार छन् । कसैले गर्न नसकेका कामहरू समेत गरेर नेपाल प्रहरीमा सुनौलो ईट्टा थप्ने कामहरू गरेको पाइन्छ ।
प्रहरी प्रधान कार्यालयलाई सोध्नुस् यो नेपाल प्रहरीको कुनै पनि दर्जाको निम्ति रेकर्ड हो । यत्तिमात्र हैन प्रदेशकै उत्कृष्ट प्रहरीदेखि दुई–दुई पल्ट नेपाल प्रहरीको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार समेत पाउने उनी एक्लो प्रहरी अधिकृत हुन् ।
जीवन चलाउने अमेरिका छ भनेर आयोगमा बयान दिन गएको दिन नै उनले सबैको अगाडि भनेको थिए । खै त के गर्नु भयो ? सीआईबीले अनुसन्धान गरेभन्दा अरु थप काम के गर्नु भयो ? सीआईबीका अफिसर जवानहरूले कति दुःख गरेका थिए त्यो कुरा हेरियो ?
सीआईबीले ३५ दिन अनुसन्धान गरेको मिशिललाई ५ महिना पढेर आरोप लगाउनु बाहेक कुनै झिंगा मारियो ? ६० केजी. सुन कसको हो ? कहाँबाट आएको हो ? नेपालको ब्यबस्थापक को हो ? भारतीय लगानीकर्ता को हो पत्ता लगाइयो ? उल्टै कुनै दिन मुख्य अपराधी समेत हुनसक्ने मानिसलाई जोगाएर मतियारमा मुद्दा चलाउनु भनेर सिफारिस समेत गरिएको रहेछ ।
डिल्लीराज आचार्य र उनका आयोगका सदस्यहरू नेपालको कानून र संविधान भन्दा माथि छैनन् । दिईएको कार्यादेशले के भनेको छ ? मनलाग्दी जे गर्ने पनि छुट कुन कानूनले दियो ? नक्कली प्रमाण तयार गरेर कसैलाई फसाँउदा कानून लाग्छ कि लाग्दैन ?
सबैको घर, परिवार, समाज, ईज्जत प्रतिष्ठा छ होला नि हैन र ? उनले के कुरा गलत गरेको थिए ? बिना प्रमाण जसको पनि नाम हालिदियो, बदनाम गरिदियो । नक्कली प्रतिवेदन बनायो, काम सक्यो हैन ? म त भन्छु तपाँईहरूले आयोगमा नियुक्ति लिएको दिनदेखि राज्यबाट लिएको साढे चवालिस लाख ईमान्दारपूर्वक फिर्ता गर्नु पर्छ । एउटा निर्दोष मानिसलाई अनाहकमा फसाउने अधिकार भगवानलाई समेत छैन ।
चैत २ गतेदेखि आजका दिनसम्म उनी धेरै मानिसहरू समक्ष पुगे । ज–जसलाई भेटे प्रायले सहानुभुति प्रकट गरे । हामी गृहमन्त्रीलाई कुरा गर्छौं भनेर आश्वासन दिए । मन्त्रीमा निवेदन दिन समेत सल्लाह दिए । सो मुताविक बिभागीय मन्त्रालयमा निवेदन समेत दिए । भलै यतिका दिन बित्दा समेत उनको निवेदनको सुनुवाई भएको छैन । म निर्दोष छु, मेरो अनुसन्धान गरिदेऊ भन्दा समेत चासो नदिने गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्छ कि पर्दैन? कि स्याल हुइँयाले नै समय बित्छ ?
आज उनको माग छ, ‘पूर्वाग्रहले भरिएको नक्कली प्रतिवेदन खारेज हुन पर्छ । अधिकार सम्पन्न शक्तिशाली न्यायीक आयोग बन्नु पर्छ । नयाँ बन्ने आयोगले यति सम्म गर्नु पर्छ कि कृतिम प्रमाण सृजना गरि नक्कली प्रतिवेदन तयार गर्ने डिल्लीराज आचार्य र तिनका मतियारहरूलाई कानूनको कठघरामा उभ्याउन पर्छ । राज्यको यो कुरामा अविलम्व ध्यान जान जरुरी छ ।
डीएसपी रुगम कुँवर र उनको परिवार अनाहकमा यातना भोगिरहेका छन् । डिल्लीराज आचार्यसहितहरूले नक्कली प्रमाणको सहारा लिएर प्रतिवेदन तयार गरेका कारण मर्नु र बाँच्नुको दोसाँधमा पुराएका छन् । आजका दिनसम्म डिल्लीराज आचार्यहरू मात्र हैन उनले कसैको केही बिगारेका छैनन् । उनी पनि मान्छे हुन् अपवाद नहोलान् ।
जीवन चलाउनेको सवालमा १०० बर्ष उनको अनुसन्धान गरियोस् कुनै गल्ति गरेका छैनन् । आज जसरी उनी र उनको परिवारले यातना भोगिरहेका छन् । प्रार्थना गर्दछु यो दुर्दिन कसैको परिवारमा नआवस् । नेपाल सरकारलाई आग्रह छ डीएसपी कुँवरमाथि निष्पक्ष तवरले छानविन होस् । गल्ती प्रमाणित भएमा जुनसुकै सजाय भोग्न उनी तयार छन्, हुनु पनि पर्छ ।