रिडी-तम्घास सडकखण्ड पुनः आजदेखि एक महिनासम्म बन्द हुने
गुल्मी- रिडी-तम्घास सडकखण्ड आजदेखि पुनः एक महिनासम्म बन्द हुने भएको छ । सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले बन्द गर्न गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । यस अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकखण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको हो ।
सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदैछ । सोही योजनाअन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।
सडकमा समानान्तर इलाइट जेभीले काम गर्दै आएको छ । सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा डोजर प्रयोग गरिएको छ । राजमार्गमा ७० प्रतिशत कटिङ्गको काम सकिएको समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।
२०७९ साल फागुन २८ गते सम्झौता भएको सडक विस्तारको काम २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको छ ।