उच्च मनोबलका साथ मैदानमा उत्रिएर विजयको ताज पहिरिने रोहित पौडेलको आसा
काठमाडौँ - राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उच्च मनोबलका साथ मैदानमा उत्रिने बताएका छन्। आइसिसी टी-२० विश्वकप खेल्न अमेरिकामा रहेका कप्तान पौडेलले राष्ट्रिय झण्डा काँधमा बोकेर विजयको ताज पहिरिने आशा राखेका छन्।
अमेरिका र वेस्ट इन्डिजमा सुखद नतिजा ल्याउने उनको भनाइ छ। यसका लागि दर्शकहरूको हौसला र माया उतिकै जरुरी रहेको उनले बताए।
कप्तान पौडेलले लेखेका छन्, ‘दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रो पटक टी-२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौं। अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईँ सबै क्रिकेट प्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ। राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ। सधैँजस्तो यस पटक पनि तपाईँहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ।’