Nic Ad Nic Ad
Nic Ad Nic Ad

नयाँ सडकमा महानगर प्रहरी पुग्यो, सडक डिभिजनसँग झन्डै ‘मुठभेड’

सोमबार, जेठ २१, २०८१

काठमाडौं– सडक विभाग अन्तर्गत सडक डिभिजन कार्यालय र काठमाडौं महानगर प्रहरी बलबीच नयाँ सडकमा झन्डै मुठभेड भएको छ। 

नयाँ सडकको पेटी बढाउनका लागि महानगरले काटेको सडक सोमबार डिभिजन कार्यालयबाट खटिएको टोलीले कालोपत्रे गरेपछि स्थिति फरक बनेको थियो। 

यहि मेसोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली लक्षित गरी सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका थिए। गिरीबन्धु टि स्टेट प्रकरणको विषयान्तर गर्ने चेष्टा गरिएको भन्ने बालेनको विचारमा समर्थन बढ्दो छ। 

उता नयाँ सडकमा भने महानगर प्रहरी बलविरुद्ध नाराबाजी समेत भएको थियो। महानगरको क्षेत्राधिकारभित्र पर्ने सडकको पेटी बनाउने काम अगाडि बढेको थियो। 

तर सडक विभागले आफ्नो क्षेत्राधिकार भएको भनी महानगरलाई भत्काएको सडक बनाउन अल्टिमेटम समेत दिएको थियो। 

मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र जस्ताको तस्तै पार्न १६ गते अल्टिमेटम दिएको थियो । तर, महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर काटिएको सडक टाल्न सुरू गरेको छ।

फुटपाथ बढाउन भन्दै महानगरले सडक काट्ने क्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराव बढेको छ। 
यहि विषयमा महानगरको कार्यपालिका बैठकमा वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनसँग पनि मेयर शाहको नोकझोंक जस्तै परेको थियो। यो क्षेत्र महर्जनको भने पर्दैन।

सोमबार सडक डिभिजनको कामलाई भने प्रतिशोध लिएको हिसाबमा पनि व्याख्या गरिएको छ। चक्रपथ निर्माणमा ढिलाई गरेको भनी महानगरले डिभिजन कार्यालयको उपल्लो निकाय सडक विभागको गेटमा एक ट्रक धुलो फ्याँकेको थियो। सोही विषयको प्रतिशोध लिन विभाग कस्सिएको रुपमा पनि यसलाई हेरिएको छ।
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १२:०९
प्रतिक्रिया दिनुहोस्