नेभिगेशन
समाज विविध
समाचार

ओलीको ‘काख’मा बसेपछि आफ्नै मन्त्रीबिरोधी टिप्पणीमा पनि मौन छन् रवि लामिछाने

काठमाडौं– एउटा संगीन टिप्पणीका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठेको छ भने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मौनताबारे पनि चासो बढेको छ। 

गठबन्धनीय राजनीतिमा मन्त्री पद कतिसम्म प्यारो हुन्छ भन्ने उदाहरणका कसी बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने। एमाले अध्यक्ष ओलीको ‘काख’मा बसेर सत्तामा मन्त्री हुन पाएका लामिछानेले आफ्नै पार्टीकी मन्त्री महिलामाथि ओलीको भद्दा टिप्पणीमा पनि मौनता कायम राखेका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, आरजु राणालगायतका नेताप्रति कठोर टिप्पणी गर्ने लामिछानेले ओलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि गरेको स्त्रीद्वेषी भनाईको खण्डन गरेका छैनन्। न त उनको पार्टीले नै ओलीको भनाईप्रति कुनै आपत्ति जनाएको छ। 

‘ओलीबिरोधी विषय त अहिले बोल्न नै हुँदैन। हुटीट्याउँले सन्सार थामेजसरी रविजीको उपप्रधान तथा गृहमन्त्री पद थामिदिएका छन्। अनि, बोल्यो भने पोलिहाल्छ’, एक नेता भन्छन्,‘यसरी निम्छरो पारामा सत्तामा कति दिन टाँसिएर बस्ने होला, उदेक लाग्छ।’

ओलीले मन्त्री श्रेष्ठको नाम नलिइकन नमिठोसँग व्यंग्य प्रहार गरेका थिए। आखिर ओलीले त्यस्तो के भनेका थिए त?

नेपाल शिक्षक महासंघका पदाधिकारीले शिक्षा मन्त्रालयले लिएको निर्णय सच्याउनका लागि पहल गरिदिन भन्दै ओलीसँग याचना गरेका थिए। सोही क्रममा मन्त्री श्रेष्ठमाथि लक्षित गर्दै ओलीले भने,‘ एउटा कथा भन्छु। एउटी चेली कुन देशमा कता गएर पढिन्, कुन देशमा गएर बिहे गरिन्। के भयो, अनि ती आफ्नो माइती देशमा एकपल्ट गइन् अरे।’

ओली यतिमा रोकिने कुरै थिएन। उनले अगाडि जोडे,‘माइती देशमा गएको त्यहाँ त असन्तुष्टि, अस्तव्यस्तता, युवाहरूमा कस्तो–कस्तो, कसरी अघि बढ्ने भन्ने नभएको अन्योलको त्यस्तो स्थितिमा सांसदमा को उठ्छ भन्दा, म उठ्छु, कसलाई समानुपातिक चाहिया छ भन्दा, मलाई भन्दै सांसद भइन् अरे। मन्त्री भइन् अरे। कहिले कहिले हुन्छ त्यस्तो, कहिले कहिले आकाशबाट माछा बर्सिन्छ। पानी परेका बेला माछा खस्छ। माछा खस्यो भनेर...।’

मन्त्री श्रेष्ठमाथि ओलीको यो दोस्रो पटकको कटाक्ष थियो। यस्तो विषयमा रास्वपा र सभापति रवि लामिछाने चुइँक्क समेत बोलेका छैनन्। ‘राजनीतिमा पद महत्व हुने रहेछ। इमानको राजनीति गर्नेले गठबन्धन, पद भनेर असह्य र ह्युमिलेट गरिएको विषय सुनेर बस्दैन’, रास्वपाका समर्थकहरू भन्छन्,‘यहि प्रवृत्तिको बिरोधमा उभिएका हामी उनैको सहयोग लिएर मन्त्री बन्ने अनि उनैले मनपरी भन्दा पनि मौन बस्नुपर्ने जस्तो देखियो।’

त्यसो त लामिछाने ओलीका सामु यो पहिलो पटक निरिह देखिएका होइनन्। गिरीबन्धु टी–स्टेटको जग्गा सट्टापट्टाको नीतिगत निर्णय गरेका ओलीमाथि छानबिन गर्न पनि तर्सिएका छन्। नेपाली कांग्रेसले सहकारी प्रकरण र गिरीबन्धु छानबिन नगर्ने सहमति लामिछाने र ओलीबीच भएको सार्वजनिक आरोप समेत लगाउँदै आएको छ। त्यसको पनि खण्डन गरिएको छैन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध