Nic Ad Nic Ad
Nic Ad Nic Ad

रवि लामिछानेबाहेक देउवासहितसँग प्रचण्डले गरेको वार्ताको रहस्य

सोमबार, जेठ २१, २०८१

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति, एमाले र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग भेटवार्ता गरेका छन्। 

सत्ता साझेदार भए पनि प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भने वार्ता गरेनन्। सरकारी निवास बालुवाटारमा पहिलो भेट माधवकुमार नेपालसँग गरेका प्रचण्डले शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग संयुक्त वार्ता गरेका थिए। 

सो क्रममा प्रचण्डले नयाँ विषयमा सहकार्यको प्रस्ताव अगाडि सारे। खासगरी राष्ट्रिय राजनीतिको मुद्दामा परिवर्तनका सहयात्री नेता र दलको सहकार्य आवश्यक रहेको प्रचण्डले बताएका थिए। यहि क्रममा सहकारी ठगी प्रकरणको संसदीय समितिको कामसहित शीर्ष नेतृत्व तहले पनि चासोका साथ हेर्नुपर्ने प्रचण्डको प्रस्ताव थियो। 

‘यो नियमित भेट नभई खास मुद्दामा सहकार्यको विषय हो। यसबाहेक बजेटका सन्दर्भमा भएका असन्तुष्टि र सहकारी ठगीको छानबिनका विषयमा पनि शीर्ष तहमा कुराकानी भयो’, बालुवाटार स्रोतले क्यानडा नेपालसँग भन्यो,‘परिवर्तनमा नै प्रश्न उठ्नेगरी भइरहेका विभिन्न प्रकारका अराजनीतिक विषयका सन्दर्भमा पनि कुराकानी भएको छ।’

राजनीतिमा सिद्धान्त भन्दा पनि भिडको जमात बलियो बनिरहेको अवस्था चिर्नका लागि राष्ट्रिय राजनीति, संविधानको रक्षा र संशोधनसहित परिवर्तनको दिगोपन कायम राख्न सहमति भएको उच्च स्रोतको दाबी छ।

‘सरकारमा रहेका सबै दलका नेतासँग कुराकानी गर्ने विषय थिएन। यसैकारण रवि लामिछाने, अशोक राईहरुसँग वार्ता नगरिएको हो। सदनलाई चलायमान समेत बनाउन आवश्यक रहेका कारण कांग्रेस सभापतिसहितसँग प्रधानमन्त्रीले कुराकानी गर्नुभएको हो’, प्रचण्डनिकट स्रोतले भन्यो,‘अन्तर्राष्ट्रिय सम्बन्धको विषय पनि उठेको थियो।’
 

प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्