Nic Ad Nic Ad
Nic Ad Nic Ad
टी–२० विश्वकप क्रिकेट

कान्छा कप्तानको नेतृत्वमा टी–२० विश्वकप मैदानमा उत्रिएको नेपाल, इतिहास बनाउने अठोट

मंगलबार, जेठ २२, २०८१

काठमाडौं– प्रतिक्षाको घडी केही घन्टापछि आइपुग्दा नेपाल क्रिकेटको टी–२० विश्वकपमा समूह डीतर्फ नेदरल्यान्डससँग पिचमा संघर्ष गरिरहेको हुनेछ। 

विश्वकपमा सहभागी भएका टेस्ट खेल्ने देशले कान्छा कप्तान रोहित पौडेलको कौशलतालाई नजिकबाट नियाँलिरहेको हुनेछ। बलियो आत्मबलसहित टिमको लिड गरेर पौडेल खेल मैदानमा फिल्डिङ र पिचमा ब्याटिङको नेतृत्वमा रहनेछन्। 

नेपाली समयानुसार रातको सवा ९ बजे खेल हुनेछ। 

प्रिम्याच कन्फ्रेन्समा पौडेलले टी–२० विश्वकप–२०२४ को पहिलो खेल खेल्न उत्साहित भएको बताएका छन्। यति मात्र होइन यो महत्वपूर्ण रहेको पनि उनको भनाई छ। 

‘हामी सबैजना उत्साहित छौं। यो इभेन्ट एकदमै महत्वपूर्ण छ। विगत १० वर्षदेखि हामी खेलेका थिएनौं। १० वर्षपछि हामी विश्वकप खेल्दैछौं। नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो। हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौं’, पौडेलले भनेका छन्।

नेदरल्याण्ड्ससँग धेरै खेल खेलेको अनुभव साटेका उनले थपे,‘ जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौं । टुर्नामेन्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ।’

समयक्रम र विभिन्न घटनाको उतारचढावबीच पौडेलले राष्ट्रिय टोलीको कप्तानी गर्ने मौका पाएका हुन्। एक हिसाबले उनलाई यो जिम्मेवारी आई लागेको थियो। विश्वकपसम्म डोहोराउनका लागि पौडेलको योगदान अभूतपूर्व रहेको थियो। 

उनी कप्तान के बनेका थिए, नेपाली क्रिकेटलाई उनको नेतृत्वको झन्डै दुई वर्षमा राष्ट्रिय टोली र रोहित आफैँले सफलताका थुप्रै कीर्तिमानहरू रच्न भ्याइसकेका छन्।

उनको कप्तानीमा नेपालले विश्वकप लीग–२ मा शानदार पुनरागमन सहित एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) जोगायो।

एसीसी प्रिमियम कपको फाइनलमा पुग्दै एसिया कपमा पहिलो पटक छानिएर भारत र पाकिस्तान जस्तो टेस्ट राष्ट्र सँग खेल्यो।
अनि युएईलाई हराउँदै १० वर्षपछि आइसीसी मेन्स टी–२० क्रिकेट विश्वकपमा छनोट भयो।

रोहितको नेतृत्वमा हात परेका यी उपलब्धिहरू राष्ट्रिय टोलीका खेलाडी, समर्थक र क्यान पदाधिकारीहरूका लागि पनि अपत्यारिलो थियो।
अहिले रोहित पौडेल अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणका कान्छो कप्तान बनेका छन्।

आज रोहितको उमेर २१ वर्ष ९ महिना २ दिन हो। २० वर्षकै उमेरमा एक दिवसीय टोलीको कप्तानी गर्ने कीर्तिमान रोहित कै हो।

एसिया कपमा ऐतिहासिक एक दिवसीय प्रतिस्पर्धामा उत्रिँदा पनि रोहित कान्छा कप्तान बनेका थिए । उनी १५ वर्ष ३३५ दिनको उमेरमै एक दिवसीय खेल्ने छैटौँ युवा खेलाडी हुन्।

अहिले त आफ्नो खेलमा थप धार ल्याउँदै रोहितले राष्ट्रिय टोलीमा अभावको रूपमा रहेको ‘अफ स्पिनर’ को भूमिकामा पनि आफूलाई ‘सेट’ गरिरहेको देखिन्छ। मज्जाको विषय के हो भने विश्वकपको पूर्व सन्ध्यामा उनको ब्याटिङ पनि धारिलो बनेको छ।

नेपालले इतिहास बनाउने अठोट लिएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्