Nic Ad Nic Ad
Nic Ad Nic Ad

गृहमन्त्री लामिछानेमाथि सम्भव सिरोहियाको ‘ओपन फायर’को अर्थ (भिडिओ)

शुक्रबार, जेठ २५, २०८१

काठमाडौं– गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र कान्तिपुर मिडिया ग्रुपका सञ्चालकको एकआपसको प्रतिशोधपूर्ण बयानबाजीले नयाँ चरणमा प्रवेश पाएको छ। 

नागरिकता प्रकरणमा कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको विषयसँग गृहमन्त्री लामिछानेविरुद्धमा समाचारको सेटिङको आग्रहबारे प्रबन्ध निर्देशक सम्भव सिरोहियाले नयाँ भिडिओ जारी गर्दै बयान दिएपछि विवाद नयाँ चरणमा पुगेको हो। 

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुरलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ गरिएको सम्भवको आरोप छ। यसमा गृहमन्त्रीले तुस पोखेको भन्ने उनको यो बयानबाजी अहिले सामाजिक सञ्जाल मिडियाहरुमा महत्वका साथ प्रकाशित र प्रशारित छन्। 

‘रास्वपा सभापतिको सहकारी ठगीको विषयमा मिलाउने प्रस्ताव गरियो तर कान्तिपुरको सम्पादकीय स्वतन्त्रता छ हामी सक्तैनौं मात्र होइन बुझाउने प्रयास पनि गरेका थियौं। उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो, सेटिङ गरेर समाचार बन्छ वा लुक्छ जस्तो सोच्नुभयो’, सम्भवले भनेका छन्। 

उनले बुवा कैलाशले वंशजको नागरिकता पाएको विषयमा पनि कारण बताएका छन्।

९ भाइ छोरामध्ये कैलाश कान्छो रहेको र उनका दाजुहरूले नागरिकता पाउँदा हजुरबुवाले नागरिकता नै नपाएको उनले बताएका छन्। पछि हजुरबुवाले नागरिकता लिएपछि बुवा कैलाशले बंशजको आधारमा नागरिकता प्राप्त गरेको सम्भवको जिकिर छ।

नागरिकता प्रकरणमा अध्यक्ष सिरोहिया गत जेठ ८ गते पक्राउ परेका थिए। उनलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट अनुमति लिएर धनुषा प्रहरीले जेठ १६ गते हाजिर जमानीमा छाडेको थियो।

सम्भवको यो बयानबाजीसँगै लामिछाने रास्वपा र कान्तिपुरबीचको तिक्तता थप कसिलो हुने निश्चित देखिएको छ। देशका ठूला राजनीतिक परिवर्तनमा हिस्सेदार र साक्षी बनेको कान्तिपुर पनि सञ्चालकमाथि गरिएको व्यवाहारको प्रयोगमा आउन सक्ने स्वभाविक अनुमान गर्न सकिन्छ। 

यो टकराब वैयक्तिक मात्र नभई राजनीतिक नाफा नोक्शानसँग पनि सम्बन्धित हुने भएकाले अर्थपूर्ण मानिएको छ।
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्