Nic Ad Nic Ad
Nic Ad Nic Ad

पर्वतको जलजला मल्लाजमा सडक कालोपत्र

शुक्रबार, जेठ २५, २०८१

काठमाडाैं -पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ ।

तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि सञ्चालन गरेको थियो ।

कार्यालयले २०७९ असार १९ गते दुई वर्षभित्रमा योजना सम्पन्न गर्न निर्माण कम्पनी गणेशकुण्ड आइएम निर्माण सेवा जेभीसँग ११ करोड १२ लाख ३१ हजार सात सय ४६ मा ठेक्का सम्झौता गरेको थियो । योजना पर्याप्त बजेट नभएका कारण निर्धारित मितिभन्दा तीन महिना पर धकेलिएको हो ।

ठेक्का सम्झौतालगत्तै कार्यस्थलमा परिचालन भएको निर्माण व्यवसायीले वडा नं २ को खाल्टीबाट ४ नं वडाको देवीस्थानसम्म सडक चक्ल्याउने, नाली, कल्भर्ट निर्माणलगायत सडक पूर्वाधारका काम सम्पन्न गरी कालोपत्र गर्न सुरु गरेको जिल्ला सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियर शङ्करराज कोइरालाले जानकारी दिए । हालसम्म यो योजनाको भौतिक ८० प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत हाराहारीमा रहेको उनले बताए ।

निर्माण व्यवसायीले धमाधम काम गरेपनि भुक्तानीका लागि बजेट अभाव हुँदा समस्या रहेको इन्जिनियर कोइरालले बताए । कार्यालयका तर्फबाट निर्माण व्यवसायीलाई रु दुई करोड भुक्तानी गर्न वाँकी रहेको उनि बताउछन् । कोइरालाका अनुसार काम गरेअनुसारको भु्क्तानी गर्न सकेको भए ठेक्का सम्झौता अवधिभित्रै योजना सम्पन्न हुने थियोे । आगामी असोज मसान्तसम्म म्याद थपेर योजना सम्पन्न गर्ने लक्ष्य छ ।

घना बस्ती रहेको मल्लाजको माझफाँटका तीनवटा वडालाई कालोपत्र सडकले जोडिएसँगै स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । एकीकृत बस्ती विकासका लागि आवश्यक पर्ने सडक पूर्वाधार सम्पन्न भएपछि अन्य आवश्यक पूर्वाधार क्रमशः निर्माण गरिने उनले बताए ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्