गृहमन्त्री लामिछानेलाई सुझावः मानसपुत्र बनेर चक्रब्युह तोड्न सकिन्न
काठमाडौं– नेकपा एमालेको राजनीति, यसका अध्यक्ष केपी शर्मा ओलीसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सार्वजनि टिप्पणी गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले भनेका थिए,‘ओली प्रवृत्तिका रवि लामिछानेहरू सडकमा नेता बनेर हिँडेका छन्।’
भुसालको टिप्पणीको अर्थ देखियो।
किनभने लामिछाने अहिले ओलीकृत गठबन्धनको सदस्यका रुपमा उपप्रधान तथा गृहमन्त्री पद लिएर सत्ताको सयरमा छन्। त्यस्तो सयर जहाँ सहकारी ठगका प्रमुख नाइके जीबी राईलाई पक्राउ गर्न सकिएको छैन भने त्यसै प्रकरणको एलिगेशन टाउकोमाथि राखेर संसदीय समितिको छानबिन पनि चलिरहेको छ।
यसको पनि अर्थ छ त्यो निचोडमा जोड्नेछु।
लामिछाने ओलीका किन मानसपुत्रको संज्ञामा राख्न उचित पात्र हुन् भन्ने सानो उदाहरणचाहिँ आफ्नी मन्त्री सुमाना श्रेष्ठविरुद्ध द्वेषी टिप्पणी गर्दा चुइँक्कसम्म गर्न सकिन्न भने त्यो सरकारमा रहनुको लोभ र पापको कुन्ठाबारे प्रश्न त उठ्छ। त्यो स्वभाविक हुन्छ।
पहिला त मानसपुत्रको अर्थ खोजौं।
मानसपुत्र भन्नाले मैथुन क्रियाबाट जन्म नभई इच्छाद्वारा उत्पत्ति भएको पुत्र वा पुत्री भन्ने बुझिन्छ। यस्तै ब्रह्माकी सन्ध्या नामकी एक मानसपुत्री पनि थिइन्।
वेद र धार्मिक ग्रन्थहरूका अनुसार भगवान ब्रम्हाले आफ्ना शरिरका विभिन्न अंगबाट सन्तानको उत्पत्ती गरे। जसलाई मानसपुत्र भनिन्छ। यद्यपि, यो विषयमा पनि प्रकारान्तरका व्याख्या रहलान्। तर, मानसपुत्र ब्रम्हाले संसार चलाउनका लागि जन्म गराएको विश्वास गरिन्छ।
मरीचि, ब्रह्माको मनबाट उत्पन्न भएका मानसपुत्र थिए। यिनलाई सप्त ऋषिमध्ये एक ऋषि मानिएको छ।
गीतामा उल्लेख भएअनुसार मरीचि कश्यप ऋषिका पिता हुन् र यिनी वायु हुन्। यिनको विवाह दक्ष प्रजापतिकी छोरी सम्भूतिसँग भएको थियो।
अत्रि, पुराणका अनुसार महर्षि अत्रि ब्रह्माजीको आँखाको भागबाट उत्पन्न भएका मानस पुत्र थिए। ब्रह्माका इच्छित सात मानसपुत्र थिए जसको नाम हो– पुलस्य, पुलह, वशिष्ठ, कौशिक, मरिचि, क्रतु र नारद। यी सबैले ऋषि दर्जा प्राप्त गरेका छन्। अत्रि ऋषिको आश्रम चित्रकूटमा थियो।
अंगिरा, पुराणकाअनुसार अंगिरा पनि ब्रह्माको मुखबाट उत्पन्न भएका मानसपुत्र हुन्। अंगिराका एक पुत्र बृहस्पति देवताहरूका गुरु हुन्।
पुलह, ब्रह्माको नाइटोबाट उत्पन्न भएका मानस पुत्र थिए। मान्यताअनुसार १६ प्रजापतिमा एक प्रजापति ऋषि पुलह पनि हुन्। पुलह ऋषिले ऋषि कर्दमकी एक छोरी र दक्ष प्रजापतिका पाँच छोरीहरूसँग विवाह गरेका थिए।
क्रतु, ब्रह्माको हातबाट उत्पन्न भएका मानस पुत्र थिए । क्रतु पनि १६ प्रजापतिमध्ये एक प्रजापति थिए।
ऋषि क्रतुले ब्रह्माको आज्ञाअनुसार दक्ष प्रजापति र क्रियाकी छोरी सन्नतिसँग विवाह गरेका थिए। किंवदन्तीअनुसार ऋषि क्रतु र सन्नतिबाट बालिखिल्य नामका ६० हजार छोराहरू भएका थिए।
पुलस्य, संस्कृतको पुलस्त्य नेपालीमा तद्भव भई पुलस्य लेखिएको पाइन्छ। पुराणका अनुसार पुलस्य ब्रह्माको कानबाट उत्पन्न भएका मानस पुत्र थिए। वशिष्ठ, पुराणका अनुसार वशिष्ठ ऋषि ब्रह्माका मानस पुत्र हुन्।
लामिछाने ओलीका मानसपुत्र कसरी भए? यसका दुई अहम् उदाहरण छन्। ०७९ को पुस १०मा घोत्लिँदा त्यसबखत ओलीले तयार पारेको गठबन्धनमा लामिछानेलाई जोडियो। जता जता एमाले त्यता त्यता रविको गति हुन थाल्यो।
एमाले प्रतिपक्षमा पुग्दा, लामिछानेको दल रास्वपा पनि प्रतिपक्षमा पुग्यो। तर, जब गत बर्षको अन्तिम फागुनतिर गठबन्धन फेरियो फेरि लामिछाने ओलीको गतिमा गीत गाउन जोडिए।
अहिले सदनमा अनेक प्रकारका छानबिनका सवाल उत्पन्न भएका छन्। सदनमा मात्र नभई सडकसम्म पनि सहकारीदेखि ओलीकृत गिरीबन्धु चियाबगान भ्रष्टाचार प्रकरणको विषय पनि छताछुल्ल छ। तर, क्रान्तिकारी बनेर सत्तामा टाँसिएका लामिछानेले गिरीबन्धु प्रकरणमा आँखा चिम्लिएका छन्। जसरी ब्रम्हाले जन्माएका मानसपुत्र उनको बर्खिलापमा उभिने चेष्टा नगरेको ग्रान्थिक काब्य छन् त्यसरी दुई पटकको सत्ता साझेदारीमा ओलीकृत भ्रष्टाचार प्रकरणमा लामिछाने मौन छन्। बोल्ने साहस गरेका छैनन्।
बरु, सहकारी प्रकरणमा एमालेले सत्ता सयरका निम्ति लामिछानेको बचाऊमा बोलेका कारण नजरअन्दाज गरेर सत्तामा टाँसिएको प्रकरण नै मानसपुत्र भएको प्रमाण होइन र? माथि उठेको प्रसङ्ग यहाँनेर जोडिन्छ।
यद्यपि गृहमन्त्री लामिछानेलाई एउटा अचुक सुझाव पनि दिन चहान्छ टिप्पणीकार। तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा हुन्छ, त्यहाँ के प्रसङ्गमा कुरा उठ्छ भन्ने जानकारीमा छ?
यहाँसम्मकी कमजोर संसदीय शक्ति हुँदा पनि माधवकुमार नेपालसहित ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेता शेरबहादुर देउवाको बैठक हुन्छ, त्यहाँ रास्वपा र लामिछानेबारे कस्तो मन्थन हुन्छ होला?
नेपाली राजनीति एउटा षडयन्त्रको रणभूमी हो। यहाँ नयाँ र विकल्पको उदय भनेको नै गति रोक्ने चेष्टा हो। मानौं नमानौं रास्वपको संगठन विस्तार र तिव्र गतिको दौडलाई सत्ताको लोभमा भनेजस्तो मन्त्रालय दिएर नेपथ्यबाट रोक्न खोजिएकै हो। स्मरणीय होस् कुनै अमुक नेताको मानसपुत्र बनेर चक्रव्युहमा छिर्न सकिएला त्यसबाट निस्कन र उम्कन कठिन हुन्छ। किनभने यहाँ अभिमन्युको कला, चेत र बलको हत्या गर्ने कोही अरु थिएनन्, आफन्त नै थिए। र, निचोड यो हो सत्ता राजनीतिमा मानसपुत्र बनाउने र अभिमन्युको हविगतमा लग्ने पनि आफन्त नै हुन्छन्। उस्तै देखिन्छन् तर निर्मम पनि हुन्छन् भन्ने हेक्का होस्।
गृहमन्त्री लामिछाने चौतर्फी घेरामा नै छन्। राजनीतिको यस्तो घेराबन्दी कायम छ भने राजनीतिभन्दा बाहिर देशीविदेशी शक्तिलाई पनि ध्यानाकर्षण गराउन सक्ने बिग मिडिया हाउस पनि लागेको छ।
गृहमन्त्रीले कुनै बेला भनेका थिए,‘नचलाऊ मलाई। सक्तै सक्तैनौं। लिभ मी एलोन।’ तर राजनीति त्यो आक्रोशको सीमारेखा होइन, यहाँ ७० बर्षदेखि सत्ता ओगटेका अनुहारले नसक्ने होइन, खरानी बनाउन सक्छन्। एकअर्काप्रति निर्मम टिप्पणी गर्नेले नयाँलाई स्वीकार गर्नै सक्तैनन्, यहि आजको यथार्थ हो।