Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा सहभागी

आइतबार, जेठ २७, २०८१

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका छन् । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल, श्रीलंकाका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित भएका थिए । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरूले समेत पद तथा गोपनीयताको शपथ लिएका थिए।

प्रधानमन्त्री दाहाल शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।   

प्रधानमन्त्री दाहालले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार