एमालेभित्रकै पदाधिकारी नेतालाई थिचोमिचो गर्छन् ओली
काठमाडौं– पार्टी विभाजनपछि पनि लामो समय एमालेभित्र रहेका घनश्याम भुसालले अन्याय सहन सकेनन् र अलग भए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर चुनौति दिएका कारण उनी त्यहाँभित्र बसिनसक्नु भयो। यसैले निस्किए र जोडिए नेकपा एकीकृत समाजवादीमा। उक्त पार्टीमा भुसाल महासचिव छन्।
पार्टीको राजनीतिक हाइट के होला त्यो अलग पाटो भयो तर भुसाल एउटा प्रखर कम्युनिस्ट अध्येता हुन्। तिनैले एउटा टिप्पणी गरेका छन्,‘एमाले लामो समयसम्म समाजवादमा पुग्दैन, त्यहाँ व्यक्ति पुजन भएकाले रुमल्लिरहेको छ।’
एमालेभित्रको सशक्त प्रतिपक्षी रहेका माधवकुमार नेपाल र झलनाथ खनाल अलग भएपछि ओलीको एकल राज चलेको छ। भिम रावल जस्ता बरिष्ठ नेतालाई किनारामा लगेर ‘लौरो न हतियार’ पारेका ओलीले अन्य पदाधिकारीलाई पनि थिचोमिचो गरेका छन्।
बामदेव गौतमजस्ता नेतालाई किनारा लगाउनका लागि ७० बर्षको सीमाहद राखियो। तर, गौतम पनि फरक बाटोमा हिँडेपछि त्यो सीमा हटाइयो। गौतम एमालेमा भित्रिन चहान्छन् तर प्रतिस्पर्धी बन्ने खतरा देखेपछि ओली त्यो चरणमा कुरा गर्न तयार छैनन्।
एउटा कार्यक्रममा आजित भएर जिम्मेवारी पाए एमाले फर्किन्छु भनेका गौतमलाई मुखैमा ओलीको जवाफ थियो,‘यो विषयमा सल्लाह गरौंला, यस्तो भन्ने मञ्च र ठाउँ हैन।’
आखिर ओलीको महत्वकांक्षा र अहंकारको प्रतिबिम्ब यहाँ पनि देखियो।
राजनीतिक चेत भए पनि अराजक शासन शैलीमा ओलीलाई जित्न सक्ने कोही छैनन्। गणेशले भगवान शिवजीको परिक्रमा गरेर पाएको उपाधि जस्तै ओलीको परिक्रमा र चाकरी गर्नेले मौका पाउँछन्, थोरै मात्र पनि आलोचना गर्ने नेता भित्तामा पुग्छन्। त्यसैले कुनैबेला फरक मत राख्ने सचिव गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका पदाधिकारीले अहिले ओलीको चाकरी गर्नुको विकल्प रोज्न सकेका छैनन्।
ओलीको थिचोमिचो यत्तिमा कहाँ सकिन्छ र? पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्किने चर्चालाई ओलीले नकारे। उनले प्रश्न गरे,‘किन सक्रिय राजनीतिमा आउनुपर्छ र?’ ओलीले एमाले आफ्नो विर्ता ठानेका कारण अर्को एउटा बैठकमा भने,‘म हृष्टपुष्ट छु। २० बर्ष नेतृत्वमा अर्काले नताके हुन्छ।’ संगठन निर्माणदेखि गति दिलाएका नेता कसैले पनि चुइँक्क गर्न सकेनन्।
ओलीको थिचोमिचो यतिसम्म छ की उपमहासचिव सहित गण्डकी प्रदेशको कमाण्ड सम्हालेका पृथ्वी सुब्बा गुरुङलाई महत्वको जिम्मेवारी दिएनन्।
‘कालो कपाल’ भएका कारण पद्मा अर्याल जवान रहेको भन्ने टिप्पणी गर्ने ओलीले गण्डकी प्रदेशको जिम्मेवारी सचिव पदमा आसिन उनै अर्याललाई दिए। एक हिसाबले महिलालाई जिम्मेवारी दिएको भनी प्रशंशा होला तर पार्टी पोर्टफोलियोमा यत्तिको थिचोमिचो कांग्रेसमा पनि हुँदैन।
संगठनमा योगदान गरेका र उत्तराधिकारीका लागि लायक पद ठानिएको महासचिवमा शंकर पोखरेल ल्याउँदा ओलीले विष्णु पौडेललगायतका नेतालाई ‘बाँदरको पुच्छर’ जस्तो उपाध्यक्ष पदमा थन्क्याएका छन्। यति मात्र होइन १०औं महाधिवेशनमा अध्यक्षको सपना उनिरहेका ईश्वर पोखरेल जस्ता नेतालाई थन्क्याउन बरिष्ठ उपाध्यक्ष भन्ने पद निर्धारण गरे। विधान सम्मेलनअघि कायम रहेको ७० बर्षको उमेरहद हटाए ताकि फेरि नेतृत्वमा आउने सरलरेखा कोरियोस्।
सँधैभरी साथ दिएका सुवास नेम्वाङलाई पराजित हुने राष्ट्रपति पदमा उम्मेदवार बनाएका ओली जिल्ला र प्रदेश कमिटीमा पनि आफूनिकटलाई मात्र ल्याउने प्रयत्नमा रहन्छन्, जसले उनको मिथ्या तर्कलाई पनि सुगन्ध भनिदियोस्।
पार्टीभित्रकै नेतालाई थिचोमिचो गर्ने ओलीले अर्का पार्टीका नेतालाई केसम्म भन्न भ्याउँदैनन् होला। एउटा अन्तरवार्ता हेर्ने हो भने उनले भनेका छन्,‘म सत्य मात्र बोल्छु। झूठ बोल्नका लागि म प्रचण्ड हो?’
ओली हुर्मत लिन पछि पर्दैनन्। पछिल्लो पटक काठमाडौं महानगरका लोकप्रिय मेयर बालेन शाहको आलोचना गरेका ओलीले सत्तामा ल्याएका रास्वपाका रवि लामिछाने हुन् कि सुमना श्रेष्ठ, सबैलाई पेलेर बोल्छन्। यहि पारामा चलेका ओलीका भाष्ण हाँस्य श्रृङ्खला होलान् तर त्यो भन्दा बढीचाहिँ अहम्तावादी छन् भन्ने उदाहरणका रुपमा उनैले भनेका थिए,‘विश्वमा दुई पटक मिर्गौला फेरेको प्रधानमन्त्री यहिँ छु, संसारमा कहीँ छन्?’