प्रदेश सभा जोगाउन र मध्यावधि टार्न फ्लोर क्रस गरेर मत दिए : फणीन्द्र देवकोटा
काठमाडौँ - नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेका थिए । यससँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए । १५–१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको उनले बताए ।
त्यसका बाबजुद आफूले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भए पनि सरकार नजोगिएको उनले बताए । तर अहिले निर्णायक रहेका पार्टीहरूले पनि साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको उनले बताए ।
माओवादीले ह्विप जारी गरेको भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र पार्टीको निर्देशनअनुसार मत दिएको बताए ।