दसौँ राष्ट्रिय खेलकुद कर्णालीसंगै देशकै ठूलो इभेन्ट : मुख्यमन्त्री
काठमाडौँ - कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशसँगै देशको पनि ठूलो इभेन्ट भएको बताएका छन् ।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याल, सरोकारवालालगायतको उपस्थितिमा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा १० औँ राष्ट्रिय खेलकुदको सन्दर्भमा भएको बैठकमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
उनले तोकिएको मिति नसर्ने गरी राष्ट्रिय खेलकुद आयोजनाको तयारी अगाडि बढाउनु पर्नेमा जोड दिँदै सबैले आ–आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नु पर्ने बताए ।
खेलकुद मन्त्री श्रेष्ठले चुनौतीपूर्ण बजेटमा धेरै काम गर्नु पर्ने बाध्यता रहेको बताउँदै ढृढ इच्छाशक्ति, समन्वय र सहकार्य राम्रो भयो भने चुनौतीलाई पार गर्न सकिने धारणा व्यक्त गरे ।
सदस्य–सचिव टंकलाल घिसिङले विगतको कमीकमजोरीलाई नदोहो¥याउनेमा सचेत रहेको बताउँदै कर्णाली प्रदेशको अपनत्व भएको छ भन्ने गरी सन्देश दिन जरुरी रहेको बताए । सदस्य–सचिव घिसिङले १० औँ राष्ट्रिय खेलकुदका लागि केन्द्रबाट भएका प्रगति बारे प्रकाश पारेका थिए ।
खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले संघीय मन्त्रालयको जिम्मेवारी पूरा गर्न खेलकुद मन्त्रालय गम्भीर र प्रतिबद्ध रहेको बताए ।
सोमबारै खेलकुद मन्त्री श्रेष्ठ र सदस्य-सचिव टंकलाल घिसिङले कर्णाली प्रदेशमा हुने १० औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन पनि गरेका थिए ।