बलात्कारी न्यायाधीश, हत्यारा प्रहरी अधिकारी!
काठमाडौं– न्यायालय र प्रहरी सेवाको उच्च तहमा रहेका अधिकारी नै बेथिति र अपराधमा संलग्न भएको प्रमाणित हुन थालेका छन्। हुन त छिटपुट रुपमा मध्य र तल्लो तहका अधिकारी पनि अपराध कर्ममा जोडिएका अनेक उदाहरण छन्। तर, ‘जो अगुवा उही बाटो हगुवा’ भने जस्तो उदाहरण पेश हुन थालेको हो।
भर्खरै मात्र एक पूर्वन्यायाधीश बलात्कारी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीमा दोषी ठहर गरेको हो। यसको अर्थ जिल्ला अदालतले उनलाई बलात्कारी करार दियो।
न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको छ।
उनलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसलामा तोकिएको छ। जरिवानाको रूपमा सुनाएको उक्त रकम पीडितले पाउने छिन् ।
जिल्लाले यसअघि उनलाई जेठ १३ गते दोषी ठहर गरेको थियो। उक्त फैसलाको आइतबार सजाय निर्धारण गर्दै कैद र जरिवाना तोकेको हो। उनी सर्वोच्च अदालतको आदेशले यसअघि नै थुनामा रहेका छन् ।
सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीको बिनासहमति शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो। जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पदसमेत गुमाइसकेका छन्।
सुरक्षा निकायका अर्का बिख्यात पात्र हुन् सशस्त्र प्रहरी बलका पूर्वनायव महानिरिक्षक (डीआईजी) रञ्जन कोइराला। उनी पत्नी गीता ढकालको हत्यामा दोषी ठहर भई अहिले जेलमा छन्।
तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सेटिङ गरेर बाहिर निस्किए पनि उनलाई फेरि पक्राउ गरी कारबासमा हालिएको छ।
उनले पत्नी गीता ढकालको हत्या गरेर फ्याँके, चित्त नबुझेपछि फेरि लास हेर्न फर्किए। अनि, घटनाको पर्दापण पनि भएको थियो।
सर्वोच्च अदालतबाट सजाय पाएका उनले तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग ‘आर्थिक सम्झौता’ गरी सजाय घटाएर जेलमुक्त भएको चर्चा चल्यो। त्यसबेला प्रधानन्यायाधीश राणाको चित्तमा लागेका कारण उनी बाहिर निस्कने व्याख्या भएको थियो।
राजा शैलीमा प्रेमीकासँग जेलमुक्त भई निस्किएका कोइरालाको खुसी कहाँ लामो समय टिक्न पायो र? भनिन्छ नि, पाप धुरीबाट कराउँछ। हो, सर्वोच्चको धुरीले उनको कर्मको सजायमा फेरि पनि अवलोकन गरेको थियो।
उक्त फैसलाको पुनरावलोकन हुँदै पक्राउ गरी थुनामा राख्न आदेश दिइयो, कोइरालालाई। अनि, उनलाई पक्राउ गरि जेल पठाइयो।
त्यसको पूर्णपाठ आएको छ।
चित्तमा लागेको भरमा कैद मिनाहा गर्दै जाने हो भने कानुनले न्यायाधीशलाई दिएको स्वविवेकीय अधिकारको दुरुपयोग हुने व्याख्या सर्वोच्चले गरेको छ।
तीन सदस्यीय इजलासले न्यायाधीशलाई चित्तमा लागेको कुरा आधार र कारणबाट पुष्ट्याइँ हुनुपर्ने व्याख्या गरिदियो। ‘न्यायाधीशले गर्ने निर्णय सार्वजनिक सम्पत्ति हुन पुग्ने भएबाट चित्तमा लाग्यो तसर्थ सजाय घटाइयो भन्नु (मुलुकी ऐनको अदालती बन्दोबन्दीको १८८ नम्बर) का लागि पर्याप्त नहुने,’ दीपककुमार कार्की, टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘प्रस्तुत मुद्दामा पनि बर्णित आधार कारणबाट निज प्रतिवादी (रञ्जनकुमार कोइराला)लाई सजाय घटी गर्नुपर्ने गरी चित्तमा लाग्ने वस्तुगत आधार कारण देखिन आउँदैन।’
२०७९ जेठ १२ मा कोइरालाको कैद मिनाहा हुने भनी संयुक्त इजलासले गरेको फैसला उल्टिने भनी पूर्ण इजलासले गरेको फैसला सार्वजनिक भएको हो।
सर्वोच्च अदालतले २०६९ सालको नजीर उद्धृत गर्दै कोइरालाको कैद मिनाहाको राय उचित नभएको व्याख्या गरेको थियो। त्यो नजिरमा ‘न्यायाधीशलाई चित्तामा लाग्ने भन्ने कुरा मनोगत हुन नसक्ने’ भनी व्याख्या भएको थियो ।
चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले त्यसलाई ८ वर्ष ६ महिना कायम गर्ने भनी राय लेखेका थिए। जुन सजाय भोगीसकेर कोइराला बाहिर निस्किएका थिए।
रञ्जन कोइराला २०६८ माघ ८ गतेदेखि २०७७ साउन ७ गतेसम्म थुनामा बसेका थिए। सर्वोच्च अदालतले कैद घटाएपछि रिहा भएका उनलाई फेरि त्यो फैसला उल्टेपछि २०७९ जेठ १३ मा पक्राउ गरी कारागार पठाइयो।
रञ्जन कोइरालाले करिब एक दशर्कअघि आफ्नै श्रीमती गीता ढकालको हत्या गरेर लासलाई टुक्राटुक्रा पारी काठमाण्डौंबाट मकवानपुरको जङ्गलमा लगेर जलाएको अदालती विवरणहरूमा उल्लेख थिए।
जुन घटनाको पछाडि अर्की प्रतिवादी तारा रेग्मीसँग कोइरालाको प्रेम सम्बन्ध कारण रहेको ढकालले जीवित छँदै दिएका निवेदनमा उल्लेख गरिएको अहिले पनि पाइन्छ। सर्वोच्चको सजाय छुट दिने फैसलामा समेत उनीहरूबीच ‘घनिष्ट सम्बन्ध’ रहेको उल्लेख गरिएको थियो।
उनलाई जिल्ला र तत्कालीन पुनरावेदन अदालत हालको उच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए। सशस्त्र प्रहरीमा उनका समकालिन र चिन्नेहरूका अनुसार उनी महानिरिक्षक (आईजी) हुने लाइनमा थिए। तर, घटनाको व्याख्यालाई विश्लेषण गर्ने हो भने उनी प्रेमीका रेग्मीको पिरतीका कारण पत्नी हत्यारा ठहर भई जेलमा छन्।
न्यायालयमा गिरी र प्रहरी सेवामा कोइराला जस्ता अगुवाका कारण दुवै क्षेत्रमा गतिला मान्छे मात्र नरहेको भन्ने पुष्टि हुन्छ। आफ्नो पद र शक्तिको चरम दुरुपयोग मात्र नभई लापरवाही, नजरअन्दाज गरी आपराधिक गतिविधिमा संलग्न यस्ता पात्रका कारण अन्य पनि बदनाम हुने टिप्पणी गरिन थालिएको छ।