पाइलट लामाले पटक-पटक कानुन उल्लंघन गरेको छानबिन समितिको निष्कर्ष
काठमाडौँ - उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्याएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगममा करारमा कार्यरत पाइलट विजय लामालाई कारबाही गर्ने भएको छ ।
प्राधिकरणले तोकेका संवेदनशील क्षेत्रमा हवाई सुरक्षालाई बेवास्ता गर्दै लामाले भिडियो-फोटोग्राफी गरेको अभियोगमा जेठ २१ गते निगमलाई उडानमा नराख्न निर्देशन दिँदै उनीसहित दुई जना पाइलटलाई ग्राउन्डेड गरेको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा प्राधिकरणले निर्धारण गरेका मापदण्ड तथा सिफारिसको परिपालना नभएको अभियोगमा प्राधिकरणले उड्डयन सुरक्षा विभागका निर्देशक विक्रमराज गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिमा संलग्न एक अधिकारीका अनुसार, ग्राउन्डेड गरिएका दुईमध्ये क्याप्टेन भावना गिरीलाई कारबाही गर्नु नपर्ने देखिएपछि उनलाई रिलिज (उडानमा फर्काइएको) गरिएको थियो ।
ती अधिकारीका अनुसार, छानबिन समितिले पाइलट लामाले गुडिरहेको, टेकअफ गर्दै गरेको जहाजको ककपिट तथा अरु संवेदनशील क्षेत्रमा भिडियोरफोटोग्राफी गर्ने, सामाजिक सञ्जालमा राख्ने गरेको पाइएको छ ।